'वैद्य माओवादीलाई राष्ट्रपतिले आग्रह गर्न सक्ने'

  • 11 सेप्टेम्बर 2013
Image caption वैद्य नेतृत्वको मोर्चालाई मनाउन शितल निवासले पहल गर्ने राष्ट्रपतिका एक सल्लाहकारले बताएका छन्

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीलाई पनि चुनावी प्रक्रियामा ल्याउन राष्ट्रपतिले पहल गर्न सक्ने उनका प्रेस सल्लाहकारले बताएका छन्।

सरकार विघटन र चुनाव स्थगनको माग राख्दै आएको माओवादीलाई मनाउन पहल गरिदिन मुख्य दलहरुले राष्ट्रपतिलाई अनुरोध गरेको भोलिपल्ट उनको यस्तो प्रतिक्रिया आएको हो।

आग्रह

मोहन वैद्य नेतृत्वको मोर्चासंग पटकपटक भएको वार्तामा उ चुनावमा सहभागी नहुने संकेत मिलेको भन्दै उच्चस्तरीय समितिमा रहेका मुख्य राजनीतिक शक्तिहरुले मंगलबार राष्ट्रपतिलाई भेटी त्यस्तो अनुरोध गरेका थिए।

यद्यपि अझै पनि उक्त मोर्चा चुनावमा आउनेमा राष्ट्रपति आशावादी रहेको र वैद्यलाई मनाउन शितल निवास तयार रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताएका छन्।

उनी भन्छन्, "राष्ट्रपतिले वैद्यजीलाई बोलाएर चुनावमा सहभागी भइदिनुहोस् भनेर आग्रह गर्नुहुन्छ। आग्रह वा प्रोत्साहितसम्म गर्ने हो तर कसैलाई चुनावमा ल्याउन वाध्य गर्न सकिंदैन। भूमिका त्यतिसम्म मात्र हो।"

फरक

एकातिर मुख्य दलहरुको अनुरोध छंदैछ अर्कोतिर वैद्य नेतृत्वको मोर्चाले पहिल्यै राष्ट्रपतिलाई गोलमेच सम्मेलनमा सहजीकरण गरिदिन भनि सकेको छ।

यस्ता फरक दुई आग्रहबीच संवैधानिक सीमाले बांधिएका राष्ट्रपतिले कस्तो भूमिका खेल्ने हुन्, त्यसले केही हदसम्म राजनीतिक निकासको बाटो तय गर्ने कतिपयको ठम्याइ छ।