वैद्य माओवादीको प्रस्तावमा प्रमुख दलहरुको मत फरक

  • 14 सेप्टेम्बर 2013
Image caption नेकपा-माओवादीले चुनाव सार्ने सहितको चार बुँदे प्रस्ताव सर्वपक्षीय वैठकमा राखेका हुन्

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले शुक्रबार शीतल निवासमा भएको सर्वपक्षीय बैठकमा चैतमा चुनाव सार्ने सहित चार बुँदे प्रस्ताव राखेपछि सरकार समर्थक दलहरुबीच मत बाँडिएको छ।

एकीकृत नेकपा माओवादीका नेताले उसको प्रस्ताव सकारात्मक रहेको बताएका छन् भने एमालेका नेताले चुनाव सार्न ठिक नहुने बताएका छन्।

विविध मत

वैद्य माओवादीले पहिले वर्तमान मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीसबाट राजीनामा दिनु पर्ने, र पछि संविधानको धारा ३८ (१) अनुसार सहमतिको आधारमा दलिय सरकार गठन गर्दा रेग्मी नै प्रधानमन्त्री भए पनि स्वीकार्य हुने, चुनाव चैतमा सार्नु पर्ने र गोलमेच सभा गरी संविधानको अन्तर्वस्तु र मार्गचित्र प्रष्ट पार्नु पर्ने प्रस्ताव राखेको थियो।

त्यसप्रति प्रमुख राजनीतिक दलहरुमा विविध मत देखिएका छन्।

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अन्य मागमा कुरा गर्न सकिने भएपनि चुनावको मिति सार्न नहुने बताएका छन्।

उनले भने, "मंसिरको निर्वाचनलाई टार्ने गरी केही स्वीकार गर्नु हुदैन। न्याय पालिकाको पनि र कार्य पालिकाको पनि प्रमुख भइरहनु हुँदैन भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौं। अहिले भन्ने वित्तिकै दलहरुको नेतृत्वमा सरकार बन्ने स्थिति पनि सहज देखिंदैन। तर हामी छलफल गर्छौं।"

'सकारात्मक'

सरकार समर्थक मध्येकै अर्को प्रभावशाली दल एकीकृत नेकपा माओवादीले चाहिं वैद्य माओवादीको प्रस्तावलाई केही सकारात्मक ठहर्‍याएको छ।

उक्त पार्टीका एक जना नेता हरिबोल गजुरेल भन्छन्, "चुनावको मिति केही दिन अघिपछि हुन सक्छ भन्ने हाम्रो धारणा हो। यो सरकारको सन्दर्भमा के गर्ने भन्नेमा विकल्पहरु खुल्ला राखिनु पर्छ। कांग्रेस, एमाले पनि सहमतिमा आउने र वैद्य माओवादी पनि सहमतिमा आउने सम्भावना चाहीं बढेको छ।"

वैद्य माओवादीको प्रस्तावमा शनिबार सबै दलहरुले गृहकार्य गरी आईतबार पुन सर्वपक्षीय बैठक बसेर एक अर्कालाई मनाउन प्रयास गर्ने नेताहरुले बताएका छन्।