रासायनिक हतियार नष्ट गर्न कूटनीतिक प्रयास तीव्र

  • 15 सेप्टेम्बर 2013
अमेरिकी तथा रुसी विदेश मन्त्रीहरु
Image caption जेनेभामा अमेरिकी तथा रुसी विदेशमन्त्रीहरुबीच त्यस्तो सहमति भएको थियो

संयुक्त राष्ट्रसंघको सुपरिवेक्षणमा सिरियासंग रहेको रासायनिक हातहतियार नष्ट गर्न संयु्क्त राज्य अमेरिका तथा रुस सहमत भएको एउटा योजना लागू गर्न कूटनीतिक प्रयास तीव्र पारिएका छन्।

उक्त योजनाप्रति सावधानीपूर्ण प्रतिकृया जनाएका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसंग भेट गर्न अमेरिकी विदेशमन्त्री जोन केरी आइतबार इजरायल जांदैछन्।

उक्त सहमतिलाई चीन, फ्रान्स र जापानले पनि स्वागत गरेका छन्।

स्वीट्जरल्याण्डको राजधानी जेनेभामा सप्ताहान्तमा भएको उक्त सहमतिमा सिरियाले उसंग रहेको रासायनिक हातहतियारको विस्तृत विवरण एक साताभित्र बुझाउनु पर्ने र नोभेम्बर महिनाभित्र अन्तर्राष्ट्रिय निरीक्षकहरुलाई हतियार भण्डारसम्म पहुंच दिनुपर्ने उल्लेख छ।

सहमति

राष्ट्रपति ओबामाले पनि वार्तामा उल्लेख्य प्रगति हासिल भएको तर धेरै काम हुन भने बांकी नै रहेको बताएका छन्।

उनले, उनकै शब्दमा, यदि कूटनीति असफल भएमा अमेरिका कारवाहीका लागि तयार रहेको पनि जनाए।

उक्त योजनाप्रति सावधानीपूर्ण प्रतिकृया जनाएका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसंग भेट गर्न विदेशमन्त्री जोन केरी आज इजरायल जांदैछन्। त्यसपछि उनी पेरिस जाने छन्, जहाँ उनले आफ्ना फ्रान्सेली, ब्रिटिश तथा साउदी समकक्षीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ।

यसैबीच सिरियाको एउटा प्रमुख विपक्षी समूहले उक्त सहमतिलाई अस्वीकार गरेको छ।

माग

विपक्षी राष्ट्रिय गठबन्धनले ब्यालिस्टिक क्षेप्यास्त्र तथा शहरी इलाकामा हवाइ हमला गर्नमा पनि प्रतिबन्ध लगाइनुपर्ने माग गरेको छ।

अमेरिकाले अगष्ट २१ तारिखमा दमास्कस बाहिर महिला तथा केटाकेटी सहित सैयौंको ज्यान जानेगरी गरिएको विषालु ग्याँस हमलाकालागि सिरियाली सत्ता जिम्मेवार रहेका आरोप लगाएको छ।

सिरियाले ती आरोपहरुको खण्डन गर्दै आएको छ।

उसले सिरियाली विद्रोहीहरु नै त्यसकालागि जिम्मेवार रहेको दावी पनि गरेको छ।

संयुक्त राज्य अमेरिका सिरियाली सरकारसंग झण्डै एक हजार टन रासायनिक हातहतियार र अन्य सामग्री रहेको र तिनलाई ४५ वटा विभिन्न ठाउँमा राखिएको ठान्दछ।

तर रुस ति सबै हातहतियार सिरिया सरकारको नियन्त्रणमा छन् भन्ने भनाइसंग सहमत नरहेको बताइन्छ।