यो सम्झौता हाम्रो जित हो: सिरिया

  • 16 सेप्टेम्बर 2013
फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँद
Image caption सिरियामाथि सैनिक दबाब कायमै राख्नुपर्ने फ्रान्सको भनाई छ

सिरियाको रासायनिक अस्त्रबारे अमेरिका र रुसबीच भएको सम्झौताको स्वागत गर्दै सिरियाली सरकारका एक मन्त्रीले आफ्नो देशको रासायनिक अस्त्रबारे सो सम्झौतालाई जित भनी व्याख्या गरेका छन्।

मेलमिलाप मन्त्री अलि हैदरले यसले सिरियालीहरुलाई संकटबाट जोगाउन तथा युद्बलाई टार्न मद्दत पुर्‍याएको बताएका छन्।

तर द्वन्द्वग्रस्त्र क्षेत्र कुसेरस्थित विद्रोही परिषदका एक प्रवक्ताले सम्झौताको विरोध गर्दै त्यसलाई एउटा नमीठो विजय भन्दै व्यंग्य गरेका छन्।

उनले भने “हो, यो उनीहरुका लागि जित नै हो। उनीहरुले रासायनिक अस्त्र प्रयोग गरि १५ सय मानिस मारे, २१ औं शताब्दिमा, र पनि बचे; त्यसैले उनीहरु सही छन् उनीहरुले जितेकै हुन्।”

रुसी विदेशमन्त्री सेर्गेई ल्याभरोभ र अमेरिकि विदेशमन्त्री जोन केरीबीच जेनेभामा ३ दिन सम्म चलेको वार्तापछि शनिबार सम्झौताको मस्यौदा घोषणा गरिएको थियो।

सम्झौताको मस्यौदा अनुसार सिरियाले एक साताभित्र आफ्ना रासायनिक अस्त्रको भण्डारबारे सम्पूर्ण विवरण बुझाई, सन् २०१४ को मध्यसम्ममा त्यसलाई पूर्णत: नष्ट गर्नु पर्नेछ।

दबाब

फ्रान्सका राष्ट्रपति फ्रान्स्वाँ ओलाँदले रासायनिक अस्त्र नष्ट गर्ने सम्झौता सिरियाली सरकारले पूर्ण कार्यान्वयन गरोस् भनी पक्का गर्नाका लागि सिरियाविरुद्ब सैनिक हमलाको दबाबलाई कायमै राखिनु पर्ने बताएका छन्।

Image caption रासायनिक अस्त्रबारेको सम्झौताले सिरियामा युद्ध टार्ने त्यहाँका मन्त्रीले जनाएका छन्

एक फ्रान्सेली टेलिभिजनलाई अन्तर्वार्ता दिंदै ओलाँदले रुस र अमेरिकाबीचको सम्झौतामाथि यही साताभित्र सुरक्षा परिषदमा मतदान पनि गर्न सकिने बताए।

उनले भने, “अमेरिका र रुसबीच भएको सम्झौतालाई फ्रान्सले एक महत्वपूर्ण कदम थियो र छ भनी मानेको छ। तर हामीले यो सम्झौता विपरित कोही पनि नजाओस् भन्ने कुरालाई सुनिश्चित गर्नु पर्छ।”

महासन्धी

यदी सिरिया सो सम्झौता अनुरुप चलेन भने अन्तिम विकल्पका रुपमा संयुक्त राष्ट्रसंघको स्वीकृतिमा बल प्रयोग गरि सम्झौतालाई लागु गराउन सकिनेछ।

सिरियाले भर्खरै विश्वव्यापी रासायनिक अस्त्र नियन्त्रण गर्ने महासन्धीमा सामेल हुने सहमति जनाएको छ र आगामी अक्टोबर १४ देखि उक्त महासन्धीका प्रावधानहरु सिरियामाथि लागु हुने राष्ट्रसंघले बताएको छ।

अमेरिकाले, गत अगस्टमा सैयौंको ज्यान जाने गरि रासायनिक हमला गरेको आरोप लगाउँदै सिरियामाथि हमला गर्ने धम्की दिंदै आएको छ।

तर सिरियाली राष्ट्रपति बशर अल असदको सरकारले यी आरोपहरु अस्वीकार गर्दै हमलाको जिम्मेवार विद्रोहीहरुलाई ठहर्‍याएको छ।

सिरियाको भ्रमण गरेको संयुक्त राष्ट्रसंघीय अस्त्र निरिक्षकहरुको टोलीले आफ्नो रिपोर्ट सोमबार सार्वजनिक गर्दैछ।