युद्ध अपराधको आरोपमा बंग्लादेशमा एकजनालाई मृत्युदण्ड सजाय

  • 17 सेप्टेम्बर 2013
अब्दुल कादर मुल्ला
Image caption मुल्लालाई तल्लो अदालतले दिएको सजायलाई सर्वोच्च अदालतले बढाइदिएको छ

पाकिस्तानसंग सन् १९७१ मा भएको युद्धमा मानवता विरुद्ध अपराध गरेको भन्दै बंग्लादेशको सर्वोच्च अदालतले जमात-ए-इस्लामीका नेता अब्दुल कादर मुल्लालाई फाँसीको सजाय सुनाएको छ।

तल्लो अदालतले यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो।

खण्डन

सबै आरोपहरुको खण्डन गरेका मुल्लाले फेब्रुअरीमा आफुविरुद्ध आजीवन कारावासको सजाय सुनाइएपछि त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए।

आधिकारिक अनुमानहरुका अनुसार सन् १९७१ को स्वतन्त्रता युद्धमा करीब तीस लाख मानिस मारिएका थिए।

फेब्रुअरीमा उनी विरुद्ध अदालती कारवाही चल्दै गर्दा उनको पक्षमा तथा उनलाई कम सजाय दिइएको भन्नेहरुले विरोध प्रदर्शन गरेका थिए।

जमात-ए-इस्लामी दलका सहायक महासचिव पैंसठ्ठी वर्षीय मुल्लामाथि ढाकाको मीरपुर इलाकामा भएका आमहत्याका ठूल‍्ठूला घटनामा दोषी रहेको बताइएको थियो। त्यसैले उनलाई मीरपुरका कसाहीको उपमा दिइएको थियो।

सरकारद्वारा गठित युद्ध अपराध सम्बन्धी विशेष अदालतले यस वर्षको शुरुमा उनलाई दोषी पाएको थियो।