सिरियाको द्वन्द्वबारे रूस र फ्रान्सबीच असहमति

  • 17 सेप्टेम्बर 2013
Image caption सिरियामा रासायनिक हतियार कसले प्रयोग ग-यो भन्नेबारे रूसी र फ्रान्सेली विदेशमन्त्रीहरूबीच विमति रहेको छ

रूस र फ्रान्सका विदेशमन्त्रीहरूले सिरियाको द्वन्द्व कसरी अन्त्य गर्ने भन्नेबारे सहमतिमा पुग्न नसकिएको बताएका छन्।

मस्कोमा बैठक गरेपछि उनीहरूको सो भनाइ आएको छ।

सो बैठक दमस्कसको बाहिरी भागमा गैरसैनिकहरू माथि रासायनिक हतियार प्रयोग भएको प्रतिवेदन राष्ट्रसंघले बुझाएको एक दिनपछि आएको छ।

राष्ट्रसंघीय महासचिव बान कि मूनले सिरियामा जे भएको थियो त्यसलाई सो प्रतिवेदनका आधारमा युद्ध अपराध भन्न मिल्ने बताएका छन्।

उक्त प्रतिवेदनले सो आक्रमण कसले गराएको थियो भन्नेबारे केही जनाएको छैन किनभने त्यो काम राष्ट्रसंघीय छानबीन टोलीको कार्यक्षेत्रभित्र पारिएको थिएन।

विमति

मानव शरीरलाई घातक हुनसक्ने सारिन ग्याँस प्रहार गर्ने सो रासायनिक हतियार कसले प्रयोग गरेको थियो भन्नेबारे पनि रूसी र फ्रान्सेली विदेशमन्त्रीहरूबीच विमति रहेको बताइएको छ।

फ्रान्सका विदेशमन्त्री लँरा फाबिउले राष्ट्रसंघीय प्रतिवेदनले सो हतियारको प्रयोग राष्ट्रपति अस्साडको सरकारले गरेको भन्नेमा कुनै शंका नरहेको बताएका छन्।

उनका रूसी समकक्षी सर्जेइ लाभ्रोभले चाहीं विद्रोही सैन्यबलले भड्काएपछि सो हतियारको प्रयोग भएको भन्ने रूसको आशंका अहिले पनि रहेको जनाएका छन्।

राष्ट्रसंघीय प्रतिवेदनले सिरियाको रासायनिक हतियारले गंभीर परिणाम ल्याउन सक्ने भन्दै फ्रान्सले सिरियाविरूद्ध सुरक्षापरिषदबाट प्रस्ताव पारित गराउने प्रयास गरिरहेको छ।

तर सिरियाको सबैभन्दा शक्तिशाली मित्र देश रूसले भने पहिले राष्ट्रपति बशर अल अस्साडको सरकारलाई रासायनिक हतियार बुझाउन मौका दिइनुपर्ने बताउँदै आएको छ।

'पुष्टी'

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले सिरियाको सरकारले नै सो आक्रमण गरेको भन्ने उनीहरूको अडानलाई राष्ट्रसंघीय प्रतिवेदनले पुष्टी गरेको बताएका छन्।

केही दिनअघि रूस र संयुक्त राज्य अमेरिकाले एक हप्ताभित्र सिरियाले आफ्नो रासायनिक हतियारका विवरणहरू सार्वजनिक गर्नुपर्ने र सन् २०१४ को मध्यसम्ममा ती सबै अस्त्रहरू निष्क्रिय बनाउनु पर्ने भनी सहमति गरेका थिए।

सिरियाले त्यसो नगरे, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र फ्रान्सले राष्ट्रसंघीय प्रस्तावमाथि जोडदिइने बताएपछि मंगलबार सिरियाली विदेशमन्त्रालयले ती देशहरूले तीनको इच्छा सिरियाली जनतामाथि लाद्न खोजेको आरोप लगाएको छ।

रूसी विदेशमन्त्री लाभ्रोभले कुनै पनि राष्ट्रसंघीय प्रतिवेदनमा सिरियाविरूद्ध सैन्य शक्ति प्रयोग गर्ने कुरा उल्लेख गर्न नहुने बताए।