'वैद्यलाई चुनावमा ल्याउन राष्ट्रपति प्रयत्नशील'

  • 17 सेप्टेम्बर 2013
राष्ट्रपति रामवरण यादव
Image caption वैद्यलाई चुनावमा ल्याउन राष्ट्रपति प्रयत्नशील रहने उनका प्रेस सल्लाहकारले बताएका छन्

सरकार समर्थक दलहरु र मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीबीच वार्ता विफल भएपनि राष्ट्रपतिले मंसिरको निर्वाचनमा वैद्य माओवादीलाई ल्याउने प्रयत्न जारी राख्ने उनका प्रेस सल्लाहकारले बताएका छन्।

सरकारले भने चुनावी प्रयोजनको लागि आवश्यक कानुनी संशोधनकालागि चाँडै नै राष्ट्रपति समक्ष प्रस्ताव लिएर जाने भएको सरकारका प्रवक्ताले बताएका छन्।

प्रयत्न

वैद्य माओवादीसँगको सोमबारको वार्ता विफल भएपछि सरकार समर्थक दलहरुले मंसिर ४ कै निर्वाचनको लागि तयारीमा होमिने बताएका छन्।

सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिने र चुनावको मिति सार्ने विषयमा कुरो नमिलेपछि वार्ता विफल भएको थियो।

राष्ट्रपति कार्यालय शीतल निवासले भने अझै पनि वैद्य माओवादीलाई चुनावमा ल्याउन प्रयत्न जारी राख्ने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताएका छन्।

उनले भने, "राष्ट्रपतिको चाहाना सबै दलहरु सहभागी हुन् र मंसिर ४ मै चुनाव सम्पन्न होस् भन्ने हो। वैद्यहरुलाई चुनावमा समेट्न राष्ट्रपति अझै पनि प्रयत्नशील हुनुहुन्छ।"

परिमार्जन

निर्वाचनमा जानको लागि उपेन्द्र यादव नेतृत्वको मधेसी जन अधिकार फोरम, नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग गरेको सम्झौता अनुसार संविधानसभाको सिट संख्या बढाएर ६०१ पुर्‍याउनको लागि बाधा अड्काउ फुकाएर जानु पर्ने हुन्छ।

यसको लागि सरकारले छिट्टै राष्ट्रपति समक्ष प्रस्ताव लिएर जाने सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री माधव पौडेलले बताए।

उनले भने, "समानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि सदस्य संख्या तथा मनोनितमा समेत केही परिमार्जन गर्नु पर्ने अवस्था छ। संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश पनि परिमार्जन गर्नु पर्ने भएकाले आज भोलि नै मन्त्रिपरिषदको वैठक बसेर राष्ट्रपति समक्ष प्रस्ताव लिएर जान्छौं।"

तर वैद्य माओवादीलाई अलग्याएर निर्वाचनमा जाँदा चुनावी सुरक्षाबारे निकै जटिलताहरु उत्पन्न हुन सक्ने कतिपयको डर छ।