निर्वाचन तालिकामा हेरफेर वार्ताका लागि असान्दर्भिक: देव गुरुङ

  • 20 सेप्टेम्बर 2013
Image caption निर्वाचन आयोगले सरकार र प्रमुख दलहरुले गरेको आग्रह अनुसार चुनावी कार्यतालिकामा केहि परिवर्तन गरेको छ

सरकार र प्रमुख दलहरुको आग्रह अनुरुप निर्वाचन आयोगले उम्मेदवार मनोनयनको मिति एक हप्ता पछि सारे पनि आफुहरुलाई निर्वाचन प्रक्रियामा ल्याउन प्रमुख दलहरुले नयां पहल नगरेको वैद्य माओवादीका एक जना सचिवले बताएका छन्।

खासमा चुनावको निम्ति दलहरुले आफ्नै आन्तरिक तयारी गर्नको समय थपेको आरोप उनले लगाए।

"आफ्नो कारणले निर्वाचनको लागि उम्मेदवारको सूची तयार गर्न नसकेर चाहिं समय थपेको छ।

देखाउनको लागि चाहिं माओवादीसँग सहकार्य गर्नको लागि हो भन्ने कुरा त झुटको खेतीको पराकाष्ठा हो।"

गएको भदौ ३१ गते वार्ता विफल भएको भोलीपल्ट नै एक हप्ता म्याद थप्ने प्रस्ताव प्रमुख दलहरुले गरे पनि त्यस यता आफुहरुसँग कुनै छलफल र वार्ता नगरेको उनले बताएका हुन्।

पहलकदमी

औपचारीक वार्ता विफल भए पनि वैद्य माओवादीलाई निर्वाचन प्रक्रियामा ल्याउन समयको सदुपयोग गर्न सकिने उद्देश्यले सरकार समर्थक दलहरुको सिफारिसमा सरकारले गरेको आग्रहपछि निर्वाचन आयोगले मनोनयनको मिति एक हप्ता पछाडी सारेको बताइन्छ।

तर यस बीचमा आफुहरुसँग कुनै सम्पर्क नभएको माओवादी सचिव देव गुरुङले बताए।

उनले भने, "हामीले संवादको ढोका खुल्लै राखे पनि उहाँहरुबाट त्यसको लागि पहलकदमी अहिलेसम्म भएको देखिएको छैन।"

असोज ७ गते हुने भनिएको समानुपातिक तर्फको मनोनयन १४ गते र १० गते हुने भनिएको प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन १७ गते हुने भएको छ।

यसैबीच प्रमुख दलहरु भित्रै उम्मेदवार छनौटका लागि तिव्र विवाद रहेको दलका नेताहरुले नै सार्वजनिक रुपमा बताईरहेका छन्।