केन्याको नैरोबीस्थित शपींग मलमा 'आतंककारी' हमला

  • 22 सेप्टेम्बर 2013
हमलाकारीहरु बच्ने प्रयास गर्दै सेना र सर्वसाधारण
Image caption हमलाकारीहरुले गैरमुसलमानहरुलाई निशाना बनाएका जस्तो बुझिएको छ

केन्याका सुरक्षा अधिकारीहरुले भनेका छन्, सरकारी सेनाले राजधानी नैरोबीस्थित एउटा ब्यापारिक केन्द्र, शपींग मल, मा घातक हमला गरेका संदीग्ध इस्लामवादी बन्दूकधारीहरुको खोजी जारी राखेका छन्।

वेस्टगेट मल नामको उक्त व्यापारिक परिसरमा भएको हमलामा कम्तीमा ३९ जनाको ज्यान गएको र एकसय पचास जना जति घाइते भएका अधिकारीहरुले बताएका छन्।

सरकारी सुरक्षा सैन्यले आफूहरुले बन्दूकधारीहरुलाई उक्त चारतले भवनको एउटा क्षेत्रमा घेरामा पारेको बताएका छन्।

विस्फोट

राती अबेरसम्म पनि त्यहां गोली चलेको र विस्फोटका आवाजहरु सुनिएको थियो।

सुरक्षा सैन्यले हमलाकारीहरु अन्त कतै लुकेको हुनसक्ने आशंकामा उक्त व्यापारिक परिसरमा खोजतलास गरिरहेको बताएका छन्।

उक्त हमलाको लागि सोमाली इस्लावादी समूह अल शबाबले जीम्मेवार दावी गरेको छ।

उक्त समूहले सोमालियामा अन्तर्राष्ट्रीय शान्ति स्थापक सैन्यमा केन्याको संलग्नताको प्रतिकार स्वरुप सो हमला गरेको बताएको छ।

सामना

राष्ट्रपति उहुरु केन्याटाले देशवासीलाई सम्बोधन गर्दै, केन्याले पहिले पनि आंतकवादी आक्रमणहरुको सामना गरेको र अहिले पनि गर्ने भनेका छन्।

“यो कालो घडीमा म सबै केन्यालीहरुलाई एकजुट रहन आह्वान गर्दछु। कृपया रगत दान गर्नुहोस्, अधिकारीहरुलाई सूचना दिनुहोस् र प्रभावित परिवारहरुलाई सान्त्वना र सहयोग गर्नुहोस्”, राष्ट्रपति केन्याटाको भनाई थियो।

यसअघि सन् १९९८ मा अल कायदाले नैरोबीस्थित अमेरिकी दूतावासमा गरेको हमलामा दुईसयजना भन्दा बढी मानिसहरु मारिएका थिए।

अल शबाबका सामाजीक संजाल संचालकहरुले यो घटनाबाट फाइदा उठाउंदै ट्वीटरमा नियमित अपडेटहरु पठाइरहेका थिए।

आक्रमण भएको दश घण्टापछि पनि तिनीहरुले आफूहरुका लडाकु अझै संघर्षरत रहेका भनी दावी गरिरहेका थिए।