केन्यामा बन्धक छुटाउन सैन्य कारवाही

  • 23 सेप्टेम्बर 2013
केन्याली सैन्यहरु
Image caption अधिकारीहरुले सुरक्षा कारवाहीमा धेरैजसो बन्धकहरुलाई छुटाइसकिएको जनाएका छन्

गत शनिबारदेखि इस्लामवादी उग्रवादीहरुले कैयौं मानिसहरुलाई बन्धक बनाइराखेको केन्याको राजधानी नैरोबीस्थित एउटा व्यापारिक परिसरमा सुरक्षाकर्मीहरुले कारवाही जारी राखेका छन्।

परिसर भवन माथि धुवाँको बाक्लो मुश्लो देखिएको थियो।

प्रहरीका एकजना प्रवक्ताले धेरैजसो बन्धकहरुलाई सुरक्षितरुपमा रिहा गराइसकिएको जनाएका छन् तर अँझै कतिजना बन्धक छन् भन्ने स्पष्ट भैसकेको छैन।

शनिबार दिउँसो उग्रवादीहरुले हमला गर्दा मारिनेहरु संख्या साठी नाघेको बताइएको छ।

वेस्टगेट व्यापारिक परिसरभित्र लगातार बन्दूक चलेको आवाज आएको थियो भने सुरक्षाकर्मीहरु त्यसतर्फ दौडेका थिए।

विष्फोटनको आवाजसँगै परिसरमाथि धुवाँको मुस्लो देखिएको थियो।

प्रहरीले सर्वसाधारण तथा सन्चारमाध्यमहरुलाई घटनास्थलभन्दा टाढै रहन आग्रह गरेका छन्।

बन्धक

केन्याका गृहमन्त्री जोसेफ ओले लेन्कुले धेरैजसो बन्धकहरुलाई छुटाइ सकिएको र अब भवन भित्र थोरैमात्रै बन्धकहरु बांकी रहेको बताए।

उनले दुई जना उग्रवादीहरु मारिएको पनि जनाए।

केन्याली रेडक्रसले कम्तीमा उनन्सत्तरी जनाको ज्यान गएको बताएतापनि उनले मृतकको संख्या बैसठ्ठीमात्र भएको बताए।

सोमालियाको इस्लामवादी उग्रवादी समूह अल शबाबले उक्त हमलामा आफ्ना लडाकुहरु सहभागी भएको जनाएको छ।

अपेक्षा

अल शबाबका एकजना नेताले आफ्ना सदस्यहरु त्यहाँबाट जीवितै निस्कने आफुहरुले अपेक्षा नगरेको बताए।

दुई बर्ष अघि अफ्रिकी शान्ति स्थापक सैन्यको अँगको रुपमा केन्याली सैन्यले दक्षिणी सोमालियामा सकृय उग्रवादीहरुविरुद्ध कारवाही चलाएपछि अल शबाबले नैरोबीमा हमला गरेर त्यसको बदला लिने जनाएको थियो।

केन्याली सेनाका एकजना प्रवक्ताले उग्रवादीहरुले झण्डै दश जनालाई अझै पनि बन्धक बनाईराखेको हुनसक्ने बताएका थिए।

अनि बन्धक बनाउने उग्रवादीहरुको संख्या चाहिं १० देखि १५ हुन सक्ने अनुमान गरिएको छ।

यसअघि केन्याका राष्ट्रपति उहुरु केन्याटाले हमलाकारीहरुलाई जसरी पनि परास्त पारेरै छाडने बताएका थिए।