बल्ल बन्यो कांग्रेसको संसदीय बोर्ड

  • 23 सेप्टेम्बर 2013
कोइराला तथा देउवा
Image caption कोइराला तथा देउवा समूहबीचको तानातानका कारण बोर्ड गठनमा ढिलाइ भएको बताइएको थियो।

लामो कसरतपछि नेपाली कांग्रेसले संविधानसभा चुनावका उम्मेदवार छान्नका लागि आवश्यक संसदीय बोर्ड गठन गरेको छ।

सोमबार साँझ सकिएको केन्द्रीय समिति बैठकले त्यसको टुंगो लगाएको हो।

संस्थापन र शेरबहादुर देउवा पक्षबीच संसदीय बोर्डमा आ-आफ्नो उपस्थितिबारे देखिएको विमति अन्त्य भएपछि संस्थापनपक्षका नेताहरुबीचकै होडबाजी चलेको खबरहरु आएका थिए।

अन्य प्रमुख दलहरु उम्मेदवार छान्न व्यस्त देखिएका बेला कांग्रेसले सोमबारको निर्णयपछि आफ्नो पार्टीमा त्यसलाई तीव्रता दिने बताएको छ।

बाटो

सबै पदाधिकारी रहने १४ सदस्यीय संसदीय बोर्डमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका ५ जना परेका छन्।

लामो समयदेखि रिक्त पार्टी सहमहामन्त्रीको जिम्मेवारी उक्त खेमाका पूर्णबहादुर खड्कालाई दिइएको छ।

देउवा खेमाले माग गरेको सदस्य संख्याका कारण बोर्ड गठनमा ढिलाई हुँदा केन्द्रले उम्मेदवार छान्ने प्रकृया अगाडि बढाउन सकेको थिएन।

बोर्डकी नवनियुक्त सदस्य सुजाता कोइरालाले भनिन्, "निर्वाचन आयोगले दिएको मितिभित्रै टिकट बाँडिसक्नुपर्ने भएकोले मंगलबार नौ बजेबाट शुरु हुन्छ।"

पार्टीभित्रको विपक्षी भनेर चिनिएको देउवा समूहसँग सहमति भएपछि बोर्डमा पुग्न कोइराला पक्षकै नेताहरुबीच चर्को प्रतिष्पर्धा चलेको थियो।

त्यसकारण सभापति कोइरालाका सामु बोर्डलाई जातिय, क्षेत्रिय र लैङ्गिक रुपले सन्तुलित बनाउने चुनौती खडा भएको थियो।

विवाद

तर नुवाकोट जिल्लाबाटै दुईजना नेता डा. रामशरण महत र अर्जुन नरसिंह केसी बोर्डमा परेका छन्।

पार्टीभित्रको महत्वपूर्ण संयन्त्र मानिने बोर्ड पुग्ने अवसर मुस्लिम समुदायका फरमुल्ला मन्सुरले पाएका छन्।

कोइराला परिवार र नातेदारबीचको प्रतिष्पर्धामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले अरुलाई उछिनेकी छन्।

तर उनले विवाद नरहेको बताईन्।

उनले भनिन्, "के विवाद हुनु, म पहिल्यै उपप्रधानमन्त्री भइसकेको मान्छे, मेरो पोर्टफोलियो धेरै माथि छ।"

उनले सर्वसम्मतिले बोर्ड गठन गरिएको बताईन्।

सभापति कोइरालाले विश्वास गरेका भनिएका बीपी कोइरालाका छोरा शशांकका साथै कोइराला परिवारकै अर्का प्रभावशाली नेता शेखर पनि बोर्डमा अटाएनन्।

त्यसै गरी पुराना नेता कुलबहादुर गुरुङ्को नाम पनि अन्त्यमा सूचीबाट हटेको बताइएको छ।