केन्याको सेनाद्वारा किनमेल केन्द्र नियन्त्रणमा लिने प्रयास

  • 24 सेप्टेम्बर 2013
Image caption केन्याका अधिकारीहरूले थुप्रै विद्रोही मारिएका र कयौं घाइते भएका बताएका छन्

केन्याको सुरक्षाबलले राजधानी नाइरोबीमा तीन दिनअघि इस्लामी उग्रवादीहरूद्वारा आक्रमण गरिएको किनमेल गर्ने एउटा मललाई आफ्नो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।

वेस्टगेट मलको परिसरमा मंगलबार बिहान एउटा विष्फोटन र बन्दुकको गोली चलेको आवाजहरू सुनिएका थिए।

सो आक्रमण र सुरक्षा कारवाहीमा अहिलेसम्म कम्तिमा ६५ जना मारिएका छन् र ती मध्ये तीन सैनिक हुन्।

यसैबीच केन्याका विदेशमन्त्रीले आक्रमणकारीहरू मध्ये दुईदेखि तीनजनासम्म अमेरिकी र एक ब्रिटिश महिला भएको बताएकी छन्।

एउटा अमेरिकी टेलिभिजनलाई दिइएको अन्तरवार्तामा, मन्त्री अमिना मोहमदले ती अमेरिकीहरू १८ वा १९ वर्षका सोमाली अथवा अरबी मूलका भएका बताएकी छिन्।

'ब्रिटिश महिला'

उनले आफूले उल्लेख गरेको ब्रिटिश महिला त्यस्तो गतिविधिमा पहिले पनि संलग्न रहेको जनाइन्।

यसअघि केन्याका गृहमन्त्रीले सबै आक्रमणकारीहरू पुरूष भएका बताएका थिए।

शपिङ मलमा आक्रमण भएको करिब ४८ घण्टापछि त्यहाँ श्रृंखलाबद्ध रुपमा विष्फोट तथा गोलीबारी भएको थियो।

भवनबाट कालो धुवाँको मुस्लो आकाशतिर गइरहेको थियो र थप सेनाका टुकडीहरु हतार हतार भवनभित्र प्रवेश गरिरहेका देखिन्थे।

त्यसको केहीबेरमै अधिकारीहरुले थुप्रै विद्रोही मारिएका, कयौं घाइते भएका र बाँकी भाग्ने कोसिसमा रहेपनि उम्कन नसक्ने जानकारी दिएका थिए।

सोमालियाको इस्लामी उग्रवादी समुह अल शबाबले आफनो देशमा केन्याले गरेको सैन्य कारवाहीको जवाफ दिन नाइरोबीमा सो आक्रमण गरिएको बताएको छ।

केन्याको गृहमन्त्रालयले सो मलबाट सबै बन्दीहरू रिहा गरिएका दावी गरेको छ।

तर अल शबाबले ट्विटरमा भनेको छ, अहिले पनि बन्दीहरू आफ्नो नियन्त्रणमा राखेर उग्रवादीहरूले आफ्नो स्थिति बलियो बनाएका छन्।