'विदेशी राजदूतहरुद्वारा आचारसंहिता उल्लँघन'

  • 25 सेप्टेम्बर 2013
नेपाल बन्दमा काठमाण्डूको एक दृष्य
Image caption पार्टीहरुद्वारा गरिने बन्द र हडताल विरुद्ध विदेशी राजदूतहरुले सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्

निर्वाचन आयोगले नेपालस्थित केही देशका राजदूतहरुका पछिल्ला सार्वजनिक अभिव्यक्तिहरुबाट निर्वाचन आचारसंहिता उल्लँघन भएको ठहर गरेको छ।

उक्त निष्कर्षमा पुगेपछि आयोगको बैठकले उनीहरुलाई आचारसंहिता पालना गराउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

केही राजदूतहरुले बन्द र हडताल गर्ने पार्टीलाई भोट नदिन अपिल गरेका र बन्दको विरोधलाई समर्थन हुने अभिव्यक्ति दिएका खबरहरुका माझ आयोगले त्यस्तो कदम उठाएको हो।

बन्द विरोधी

केही दलहरु प्रस्तावित चुनावको विरोधमा देखिएका बेला काठमाण्डूस्थित कैयौं विदेशी कूटनीतिक नियोगहरुले सार्वजनिक रुपमै आफूलाई चुनावको पक्षमा उभ्याएका थिए।

उनीहरुले समर्थन गरेको चुनाव नजिकै आएका बेला अमेरिकी राजदूतले बन्द विरोधी मतलाई आफ्नो प्रोत्साहन र समर्थन रहने धारणा लेख मार्फत सार्वजनिक गरेका छन्।

त्यसअघि जर्मन राजदूतले त बन्द आयोजना गर्ने दललाई भोट नदिन सार्वजनिक रुपमा अपिल गरेको खबरहरु आएका थिए।

प्रस्तावित चुनावको विरोध जनाउन बन्द आयोजना गर्ने गरेको नेकपा-माओवादी र उसको गठबन्धनले त्यसप्रति कडा आपत्ती जनाएको थियो।

एकीकृत नेकपा माओवादीका केही वरिष्ठ नेताहरुले पनि सार्वजनिक रुपमा विदेशी राजदूतहरुका अभिव्यक्तिको आलोचना गरेका थिए।

रोक

तर निर्वाचन आयोगले कुन-कुन कूटनीतिज्ञका अभिव्यक्ति आचारसंहिता विपरित रहेको ठहर गरेको हो भन्ने आयुक्त दोलखबहादुर गुरुङले खुलाएनन्।

उनले भने, "नेपालको निर्वाचनको आन्तरिक कुराहरुमा कूटनीतिज्ञहरुबाट सार्वजनिक अभिव्यक्ति दिनुभएन्, त्यो आचारसंहिता विपरित भाको हुनाले उनीहरुलाई पनि त्यसको पालना गराउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ।"

तर परराष्ट्र मन्त्रालयले बुधवार साँझसम्म आयोगको पत्र नआएको जनाएको छ।

एकजना परराष्ट्र अधिकारीका अनुसार मन्त्रालयले काठमाण्डूस्थिति विदेशी कूटनीतिक नियोगका अधिकारीहरुसँगको छलफलमा यसअघि नै आचारसंहिताको पालना गर्न आग्रह गरेको थियो।

उक्त अवसरमा केहीले आचारसंहिता आफूहरुको हकमा लागू नहुने आशय व्यक्त गरेको र केहीले त्यसबारे प्रष्ट हुन खोजेको ती अधिकारीको भनाइ थियो।

नेपालको कतिपय आन्तरिक राजनीतिमा निर्णायक हुने गरेका वाह्य प्रभाव र चलखेल गोप्य रहनै छाडेका बेला एकाध विदेशी राजदूतका पछिल्ला अभिव्यक्तिलाई कैयौंले सामान्य रुपमा लिएका छन्।