परमाणु कार्यक्रमबारे वार्ता गर्न तयार: इरान

  • 25 सेप्टेम्बर 2013
इरानका राष्ट्रपति हसन रुहानी
Image caption इरानी राष्ट्रपतिले आफ्ना देश विरुद्धको पश्चिमा प्रतिबन्धको आलोचना गरेका छन्

इरानका नयां राष्ट्रपति हसन रुहानीले, आफ्नो देश विरुद्धका पश्चिमा प्रतिबन्धहरुको आलोचना गर्दै त्यस्तो कार्यलाई अमानविय र अन्यायपूर्ण भनेका छन्।

तर संयुक्त राष्ट्र संघमा बोल्दै उनले आफू इरानको परमाणु कार्यक्रमका विषयमा विद्यमान विवाद समाधानका लागि वार्ता गर्न तयार रहेको पनि बताएका छन्।

उनले इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि परमाणु शक्तिको विकास गर्न दिइनु पर्ने बताउंदै परमाणु अस्त्र बनाउने आफुहरुको कुनै चाहना नरहेको पनि बताए।

“इरानको सुरक्षा र प्रतिरक्षा सिद्धान्तमा परमाणु अस्त्र र आम नरसंहारका अस्त्रहरुको कुनै स्थान छैन, र ति अस्त्रहरु हाम्रा मूलभूत धार्मिक र नैतिक विश्वासहरुका विपरित छन्।

"हाम्रो राष्ट्रिय स्वार्थको हिसाबले पनि हामीले इरानको शान्तिपूर्ण परमाणु कार्यक्रम लिएर उठेका सबै जायज चिन्ताहरुलाई सम्बोधन गर्नै पर्छ," उनको भनाई थियो।

आह्वान

उनले संयुक्त राज्य अमेरिकासंगका मतभिन्नताहरुलाई व्यवस्थित गर्न एउटा नयां ढांचाका लागि आह्वान पनि गरेका छन्।

नयां इरानी राष्ट्रपतिको न्यु योर्क यात्रालाई लिएर चलेका चर्चाहरु माझ उनको सम्बोधन वास्तविकताको झलक थियो।

उनले इराक र अफ्गानिस्तानमा पश्चिमा जगतको सैनिक संलग्नतालाई खतरनाक भन्दै आलोचना गरे।

इरान विरुद्धको पश्चिमा प्रतिबन्धलाई उनले त्यो विशुद्ध रुपमा हिंसा भएको बताए।

उनले इरानको परमाणु प्रशोधन कार्यक्रम औद्योगिक स्तरमा पुगिसकेकोले त्यसलाई, उनकै शब्दमा, अवैध दबाबहरुको आधारमा रोक्नु अस्वाभाविक हुनेमा जोड दिए।

तर उनले शान्तिको हात अघि बढाउंदै, इरान आफूमाथिका आशंका र चिन्ताहरु हटाउन तत्काल वार्ताका लागि तयार रहेको पनि बताए।

ओबामा

उनको सम्बोधन अघि बोल्दै, अमेरिकि राष्ट्रपति बाराक ओबामाले, अमेरिका र इरानबीच विद्यमान दशकौं लामो अविश्वासको वातावरणमा रातारात परिवर्तन नआउने बताउंदै इरानले देखाएको नयां पहलप्रति आशंका व्यक्त गरेका थिए।

उनले आफ्ना विदेशमन्त्री जन केरीलाई इरानसंग सम्बन्ध स्थापीत गर्न र वार्ताका सम्बन्धमा उक्त देश गम्भीर छ की छैन भन्ने परिक्षण गर्न पनि आग्रह गरे।

यसैबीच अमेरिकी र इरानी राष्ट्रपतिहरुबीच हुन सक्ने अनुमान गरिएको वार्ताले मूर्त रुपम लिन असफल भएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार इरानीहरुले तेहरानमा विद्यमान राजनीतिक गतिशिलताको अवस्थाका कारण अन्तत: परिस्थिती एकदमै जटिल भएको बताएका थिए।