चार्ल्स टेलरको अपील खारेज

  • 26 सेप्टेम्बर 2013
अदालतमा टेलर
Image caption विशेष अदालतले टेलरलाई पचास वर्षको जेल सजाय सुनाएको छ।

दि हेगस्थित संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त विशेष अदालतले युद्ध अपराधकालागि दोषी पाइएका लाइबेरियाका भूतपूर्व राष्ट्रपति चार्ल्स टेलरको अपीललाई खारेज गरीदिएको छ।

न्यायाधीश जर्ज गेलागा किङले टेलरलाई दिइएको पचास वर्षको जेल सजायलाई उचित भन्दै त्यो कायमै रहने बताए।

टेलरलाई लाइबेरियाको छिमेकी सियरा लियोनमा गृहयुद्ध ताका त्यहाँका विद्रोहीहरुलाई सघाएकोमा दोषी पाइएको थियो।

अभियोजन पक्षकी एकजना वकील ब्रेण्डा हलिसले भनिन्, "कुनै पनि व्यक्ति जतिसुकै शक्तिशाली भएपनि कानुनभन्दा माथि हुँदैन। आजको फैसलाले नेतृत्व, शक्ति र अधिकारबाट मात्रै हैन, जवाफदेही र उत्तरदायित्वबाट पनि आउँछ भन्ने पुष्टि गरेको छ।"

युद्ध अपराध

नाजीहरु विरुद्धको न्युरेम्वर्ग मुद्दा पछि अन्तर्राष्ट्रिय फौज्दारी अदालतले युद्ध अपराधका लागि दोषी ठहराएको उनी पहिलो भूतपूर्व राष्ट्राध्यक्ष हुन्।

सियरा लियोनमा चलेको गृहयुद्धमा त्यहाँका विद्रोहीहरुलाई सघाएको अभियोगमा गत वर्ष चार्ल्स टेलरलाई दोषी ठहराइएको थियो।

टेलरले सियरा लियोनका रिभोल्युशनरी युनाइटेड फ्रन्टका विद्रोहीहरुलाई हातहतियार दिएको र त्यसको बदला विद्रोहीहरुले उनलाई हिरा उपलब्ध गराएको बताइएको थियो।

चार्ल्स टेलर विरुद्ध सियरा लियोनमा सन् १९९१ देखि २००२ सम्म चलेको गृहयुद्धमा आतँकवाद, बलात्कार, हत्या तथा बाल सैन्य प्रयोगमा विद्रोहीहरुलाई सघाएको लगायतका एघारवटा अभियोगहरु लगाइएका थिए।

मुद्दाको सुनुवाइ भैरहेका बेला न्यायाधीश रिचार्ड लसिकले ती मानव इतिहासकै सबैभन्दा जघन्य अपराधहरुमध्ये भएको जनाएका थिए।

दि हेगमा रहेका बीबीसीका संवाददाता क्रिस मोरिस भन्छन्, यो मुद्दालाई निकै नजीकबाट नियालिएको थियो किनभने यसले देशको सबैभन्दा शक्तिशाली व्यक्तिलाई पनि जवाफदेह बनाउन सकिन्छ भन्ने सन्देश दिएको थियो।

अपराध

आफ्नो फैसलामा विशेष अदालतले सियरा लियोनमा गरिएका अपराधहरुकालागि टेलरको व्यवहार निकै हदसम्म जिम्मेवार रहेको जनाएको थियो।

अदालतले भन्यो, आफ्ना विपक्षीहरु विरुद्ध आतँक फैलाउनु नै उनको काम गर्ने तरिका थियो।

सन् १९८९ मा लाइबेरियामा एउटा विद्रोही समूहको नेतृत्व गरेका टेलर त्यसको ६ बर्षपछि सत्तामा पुगेका थिए।

सन् २००३ मा उनी विरुद्ध अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनले पद त्याग गरेर नाइजेरियामा निर्वासित जीवन बिताएका थिए।

सन् २००६ मा उनलाई पक्राउ गरिएको थियो र त्यसको एक वर्षपछि दि हेगमा उनी विरुद्ध सुनुवाइ शुरु भएको थियो।

संवाददाताहरु भन्छन्, टेलरलाई अब कुनै विदेशी जेलमा राखिने अपेक्षा गरिएको छ।

ब्रिटेन, स्वीडेन र रवान्डाले उनलाई आफ्ना जेलहरुमा राख्‍ने प्रस्ताव गरेका छन्।

उनलाई हेगबाट कुनै जेलमा सार्न एक साताजतिको समय लाग्ने बताइएको छ।