सुडानमा सरकार विरोधी प्रदर्शनमा हिंसा

  • 26 सेप्टेम्बर 2013
सुडानमा विरोध प्रदर्शन
Image caption सरकारले इन्धनमा दिंदै आएको सहुलियत कटौती गरेपछि विरोध प्रदर्शनहरु भएका हुन्

सुडानमा, इन्धन सहुलियत कटौतीको विरोधमा जारी विरोध प्रदर्शनको तेस्रो दिन भएको हिंसामा कम्तीमा २४ जनाको ज्यान गएको छ।

स्वास्थ्य अधिकारीहरुले ति मानिसहरु गोली लागी मरेका बताउंदै अन्य असी जनाको पनि गोलीको चोटको उपचार भैरहेको जनाएका छन्।

त्यसअघि राजधानी खार्तुमका विभिन्न भागमा दंगा फैलिंदा, ढुंगा प्रहार गर्ने प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए।

असन्तोष

सुडानमा, इन्धनमा दिइंदै आएको सहुलियत हटाउने सरकारी निर्णयको विरोधमा भएका प्रदर्शनहरु, सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषमा परिणत भएका छन्।

प्रदर्शनकारीहरुले सत्ता परिवर्तनको माग गरिरहेका छन् र अरब बसन्त भनिएको त्यसक्षेत्रमा केहिसमय अघि फैलिएको आन्दोलनका क्रममा प्रयोग गरिएका नाराहरु लगाइरहेका छन्।

राजधानी खार्तुम लगायत अन्य शहरहरुमा दंगा फैलिएको छ, विशेष गरी नाइल नदी पारीको शहर ओमदरमानमा स्थिती चर्केको छ।

प्रहरीले पनि बढी बल प्रयोग गर्दै प्रतिक्रिया जनाएको देखिएको छ। विद्यालयहरु बन्द छन् भने पत्रिकाहरुलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ।

केहि घण्टासम्म इन्टरनेट पनि बन्द थियो, तर त्यो सरकारले जानजान चालेको कदम थियो वा थिएन भन्ने स्पष्ट छैन।

आह्वान

प्रदर्शनकारीहरुले सामाजीक संजालका वेबसाइटहरु मार्फत आन्दोलनका सहभागी हुन मानिसहरुलाई आह्वान गरिरहेका थिए।

Image caption विरोध प्रदर्शनकारीहरुलाई पन्छाउन प्रहरीले पहिले अश्रुग्यास प्रहार गरेको बताइएको छ

असन्तोष फैलाएकामा राष्ट्रपति बशिरले विद्रोही र विपक्षी समूहहरुलाई दोष दिएका छन्।

सन् २०११ मा दक्षिण सुडान स्वतन्त्र भएपछि उनले ठूलो मात्रामा तेल राजस्व गुमाउनु परेको थियो, जस्को परिणाम स्वरुप इन्धनमा दिइंदै आएको सहुलियत कटौती गर्न उनी बाध्य बनेका थिए।

सम्बाददाताहरु भन्छन्, सुडान सरकारले चालेका मितव्ययिता सम्बन्धि पछिल्ला कदमहरुले इन्धनको मूल्यमा दुई गुणा बृद्धि भएको छ र त्यसको मार गरिबहरुमा सबैभन्दा नराम्रो परेको छ।

सन् २०१२ मा पनि त्यहां केहि इन्धन सहुलियत कटौती हुंदा केहि हप्तासम्म विरोध प्रदर्शनहरु भएका थिए।

राष्ट्रपति बशिर डारफरमा भएका भनिएका युद्ध अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायालयले खोजी गरिरहेको व्यक्तिमा पर्दछन्।