'अध्यक्ष रेग्मीले भारतका प्रधानमन्त्री भेट्ने'

  • 26 सेप्टेम्बर 2013
खिलराज रेग्मी
Image caption मन्त्रीपरिषद अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई भेट्ने कार्यक्रम तय भएको छ।

आलोचनामाझ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन बिहीबार न्य‍ूयोर्क जान लागेका अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले त्यहां भारतीय प्रधानमन्त्रीलाई पनि भेटेर चुनावसहित दर्जनौं द्विपक्षीय मामिलामा छलफल गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ।

राजनीतिक क्षेत्रमा चुनावको चहलपहल बढिरहेको बेला कार्यकारी प्रमुख विदेश भ्रमणमा जान नहुने प्रमुख दलहरु र राष्ट्रपतिले समेत सुझाइरहेका भनिएका बेला उनी अमेरिका तर्फ जान लागेका हुन्।

सहयोग

संयुक्त राष्ट्रसंघको महासभालाई मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले शनिबार सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसै दिन उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता विष्णु गौतमले बताए।

उनले भने, "चुनावलाई कसरी सहज रुपमा गर्ने भन्नेमा छलफल हुन्छ, किनकी खुल्ला सिमाना छ। त्यसमा भारतको पनि पर्याप्त सहयोग चाहिन्छ।"

यसबाहेक अन्य द्विपक्षीय हित, दुई देशको सुरक्षा चासो, ब्यापार सहजीकरण, नेपालमा सञ्चालित भारतीय परियोजन लगायतका विषयमा पनि छलफल हुने प्रवक्ता गौतमले बताए।

विरोध

मंसिर ४ मा हुने भनिएको चुनाव नजिकिंदै गर्दा चुनाव गराउने जिम्मा सहित पदमा आएका कार्यकारी प्रमुख विदेश जान उचित नहुने भन्दै नेताहरु, राष्ट्रपति, परराष्ट्रविद् तथा आलोचकहरुले सुझाई रहेको बेला उनको यो भ्रमण हुंदैछ।

संयु्क्त राष्ट्रसंघका लागि पूर्व नेपाली राजदूत जयराज आचार्यको विचारमा विशेष घरेलु परिस्थिति रहेका बेला महासभामा भाग लिन सरकार प्रमुख नै जान आवश्यक छैन।

उनले भने, "जानु पर्ने बाध्यता छ जस्तो लाग्दैन मलाई। देश संगिन संक्रमणकालमा रहिरहेको हुनाले र चुनाव पनि चाँडै हुन लागिरहेको हुनाले उहाँ यहीं रहेर काम गरेको भए हुन्थ्यो।"

यद्यपि रेग्मीका सहयोगीहरु संयुक्त राष्ट्र संघको महासभा जस्तो अवसरमा देशको प्रतिनिधित्व गर्दै सरकार प्रमुख जानैपर्ने तर्क गर्छन्।

न्यूयोर्कमा अध्यक्ष रेग्मीले राष्ट्रसंघका महासचिव बान कि मुनलाई पनि भेट्ने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्रीसंग भेट्ने कार्यक्रम निश्चित भएको अध्यक्ष रेग्मीको, अर्को छिमेकी चीनका प्रधानमन्त्रीसंग भेटवार्ता हुने नहुने यकीन भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।