'कतारका कामदारको अवस्था नियमित घटना'

  • 27 सेप्टेम्बर 2013
नेपाली कामदारहरु
Image caption अधिकांश नेपाली कामदारहरु कतारको चर्को घाममा घर बाहिरै काम गर्छन्

दैनिक सरदर एकजनाको ज्यान गुम्ने गरी कतारमा काम गरिरहेका नेपालीहरुबारे अन्तर्राष्ट्रिय चासो चरम बनेका बेला नेपाल सरकारले भने उनीहरुको कष्टकर अवस्थालाई नियमित घटना भनेको छ।

बिहीबार ब्रिटेनको एक प्रतिष्ठित पत्रिकाले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्नका लागि कतारमा बनिरहेको स्डेडियम निर्माण कार्यमा संलग्न नेपालीहरुको दयनीय अवस्था चित्रण गरेको थियो ।

नेपाली कामदारहरुको दोश्रो ठूलो गन्तव्य रहेको कतारको निरीक्षण गर्न केहि अघि मात्र त्यहाँ पुगेर फर्केका परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले कामदारहरुको अवस्था अत्यन्त हृदयविदारक रहेको बीबीसीलाई बताए ।

दुरावस्था

परराष्ट्र मन्त्रालयका सहसचिव ऋषिराम घिमिरेले भने, "उनीहरुको अवस्था त अत्यन्त हृदयविदारक छ, एउटा समाचार आएर मात्रै समस्या देखिएको होइन । यो नियमित प्रकृया हो।"

कामदारका उजुरी र गुनासोहरु प्रकृयागत रुपमा आएपछि मात्रै दूतावासमार्फत आफूहरुले सम्बन्धित निकायलाई समस्या समाधानका लागि आग्रह गर्न मिल्ने घिमिरेले बताए।

उनले नेपालीहरु विदेशीभूमिमा पुग्नु अघि नै वैदेशिक रोजगार विभागले नियम अनुसार तलब र कामबारे स्पष्ट पारेर मात्र पठाउनुपर्ने जनाए ।

तर, श्रम मन्त्रालय र त्यसअन्तर्गत रहने वैदेशिक रोजगार विभागका कर्मचारीले यस विषयमा प्रतिकृया दिन चाहेनन् ।

खाडी मुलुकमा काम गरेका श्रमिकहरुबारे काम गर्दै आएको प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पान्डेले कतारमा नेपालीको यस्तो दुर्दशा हुँदा पनि सरकारले सामान्य घटनाको रुपमा मात्रै हेरेको भन्दै असन्तोष ब्यक्त गरेका छन् ।

उदासिनता

"नेपालीहरु दैनिक मरेको लास फर्किरहँदा पनि सरकारले यसलाई एउटा दुर्घटनाको रुपमा मात्रै हेरेको छ," पान्डेले भने ।

दैनिक झण्डै १७ सय नेपाली कामका लागि विदेश जाने गरेको बताइन्छ।

हरेक दिन सालाखाला दुईजनाको लाश नेपाल आउने गरेको सरकारी तथ्यांक छ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको दुखलाई सरकारले नियमित घटना मान्दा त्यसको समाधान प्रति सरकारको उदासिनता प्रष्ट हुने जानकारहरु बताउँछन्।