सिरियाका सम्बन्धमा सुरक्षा परिषदमा छलफल

  • 27 सेप्टेम्बर 2013
अमेरिकी विदेशमन्त्री जन केरी (दायां) र रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभ
Image caption बैठक अघि मस्यौदा प्रस्तावको भाषामाथि रुस र अमेरिकाले सहमति जनाएका थिए

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सिरियाको रासायनिक अस्त्रलाई नष्ट गर्ने एउटा मस्यौदा प्रस्ताव माथिको छलफल आरम्भ गरेको छ।

न्यूयोर्कस्थित राष्ट्रसंघीय कुटनीतिज्ञहरुका अनुसार शुक्रबार उक्त मस्यौदा प्रस्तावमाथि १५ सदस्यीय सुरक्षा परिषदमा मतदान हुनेछ।

त्यसपछि राष्ट्रसंघमा सिरियाको विषयलाई लिएर साढे दुई बर्षदेखि जारी गतिरोधको अन्त्य हुने ठानिएको छ।

उक्त मस्यौदामाथिको सहमतिलाई, यसै महिना केहि अघि रुस र अमेरिकाको सकृयतामा भएको सम्झौता अन्तरगत सिरियाले आफूसंग भएको रासायनिक अस्त्र भण्डारको विवरण दिने र सन् २०१४ को मध्यसम्ममा तिनलाई नष्ट गर्न स्वीकृती जनाएको योजनाको, एक महत्वपूर्ण कदमका रुपमा हेरिएको छ।

सुरक्षापरिषदले सिरियाको रासायनिक अस्त्रलाई नष्ट गर्ने सम्बन्धि मस्यौदामाथिको छलफल स्थानीय समय अनुसार बेलुकीको आठबजेपछि आरम्भ गरेको थियो।

मतभेद

बैठक अघि मस्को र वाशिंगटनबीच मस्यौदामा प्रयोग भएका शब्दहरुमा केहि मतभेद रहेको थियो।

फ्रान्स र ब्रिटेनको समर्थन प्राप्त अमेरिकाले उक्त प्रस्तावमा सिरिया विरुद्ध सैनिक कार्वाहीको धम्की सहितको प्रावधान हुनु पर्नेमा जोड दिइरहेको थियो भने रुस त्यसको विपक्षमा थियो।

तर बिहीबार दुवै पक्षबीच मस्यौदा प्रस्तावमा प्रयोग गरिने भाषाका बारे सहमति जुटेको थियो।

सामाजीक संजालको वेबसाइट ट्वीटरमा सन्देश पठाउंदै राष्ट्रसंघका लागि अमेरिकी दूत समान्था पावरले रुससंग सहमति भएको जनाएकी थिइन्।

उनले उक्त मस्यौदाले सिरियाले गरेको रासायनिक अस्त्रको प्रयोग अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथि नै खतराका रुपमा रहेको तथ्य स्थापित भएको बताएकी छिन्।

रुस

Image caption सिरियाको रासायनिक अस्त्र अर्को बर्षको मध्येसम्म नष्ट गरिसक्ने योजना रहेको छ

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले पनि सहमतिमा पुगिएको पुष्टि गर्दै, राष्ट्रसंघीय बडापत्रको च्याप्टर सेभेन अन्तरगत सैनिक बल प्रयोग गर्न सकिने प्रावधान उक्त मस्यौदामा नभएको बताएका छन्।

आवश्यकता परेको खण्डमा त्यस्तो बल प्रयोगको कदमका लागि अर्को प्रस्ताव पारित गरिनुपर्दछ।

अमेरिकी र रुसी अधिकारीहरुले सिरियाको रासायनिक अस्त्र बारेको मस्यौदा प्रस्तावमाथि शुक्रबार सुरक्षा परिषदको पूर्ण बैठकमा मतदान हुनसक्ने बताएका छन्।

सिरियाको रासायनिक अस्त्र व्यवस्थापनकाबारे रुस र अमेरिकाबीच यसै महिना केहि अघि सहमति भएको थियो।