ग्रीसका चरम दक्षिणपन्थी नेता पक्राउ

  • 28 सेप्टेम्बर 2013
ग्रीसमा विरोध
Image caption राजधानी एथेन्समा गोल्डेन डन पार्टी विरुद्ध प्रदर्शनहरु गरिएका थिए

ग्रीसका प्रहरीले एउटा आपराधिक सँगठन गठन गरेको अभियोगमा चरम दक्षिणपन्थी गोल्डेन डन पार्टीका नेता निकोस मिकालोलियाकोसलाई पक्राउ गरेका छन्।

नव फासीवादी दलका तीनजना सांसदसहित कैयौं कार्यकर्ताहरुलाई पनि पक्राउ गरिएको छ।

दश दिनअघि एकजना वामपन्थी कार्यकर्ता तथा गायकको हत्याको सिलसिलामा उनीहरुलाई पक्राउ गरिएको हो।

सो हत्याका लागि गोल्डेन डन पार्टीका सदस्यहरु जिम्मेवार रहेको आरोप लगाइएको छ।

सो दलका सदस्यहरु आफ्ना नेताहरुलाई सोधपुछकालागि राखिएको प्रहरी चौकी बाहिर जम्मा भैरहेका छन्।

राजीनामा

ग्रीसको संसदमा उक्त दलका अठार जना सदस्यहरु रहेका छन्।

त्यहाँ सरकारले मितव्ययी कदमहरु कार्यान्वयन गरिरहेका बेला आप्रवासीहरुप्रति लक्षित जातिवादी हमलामा उक्त पार्टीको संबद्धता रहेको ठानिएको छ।

गत सेप्टेम्बर १८ तारिखमा जातिवादको विरोध गर्ने एकजना ३४ वर्षीय संगीतकार पाब्लोस फिसासको हत्या गरिएको थियो।

पाब्लोस फिसासको हत्या पछि दुई जना वरिष्ठ प्रहरी अधिकारीहरुले व्यक्तिगत कारण दर्शाउँदै तिनका पदबाट राजीनामा दिए भने नौ जना प्रहरी अधिकारीहरुलाई निलम्बन गरिएको थियो।

उनको हत्याको सिलसिलामा पक्राउ गरिएका एकजना पैंतालिस वर्षीय पुरुष जर्ज रुपाकियासले आफु गोल्डेन डनको समर्थक भएको बताएका थिए।

उनी विरुद्ध गैरकानुनीरुपमा हातहतियार राखेको तथा हत्यामा संलग्न भएको अभियोग लगाइएको छ।

धरपकड

त्यसपछि सरकारले गोल्डेन डनका कार्यालयहरुमा छापा मार्नुका साथै सो पार्टीका सदस्यहरुको धरपकड शुरु गरेको छ।

सन् २०१२ मा सम्पन्न आमचुनावमा गोल्डेन डन पार्टीले झण्डै सात प्रतिशत मत प्राप्त गरेको थियो।

प्रधानमन्त्री एन्टोनिस सामारासले उक्त दललाई प्रजातन्त्रको अवमूल्यन गर्न नदिइने वाचा गरेका छन्।

सरकारी अधिकारीहरुले अब उक्त दललाई एउटा आपराधिक सँगठनको रुपमा व्यवहार गर्नुपर्ने जनाएका छन्।

गत साता गोल्डेन डन पार्टीले संसदमा रहेका आफ्ना सबै सदस्यहरुलाई फिर्ता बोलाउने चेतावनी दिएको थियो।

त्यसोभएमा रिक्त पदहरुमा उपचुनाव गराउनुपर्ने हुन्छ।

हालैका महिनाहरुमा गोल्डेन डन पार्टी विरुद्ध आप्रवासीहरु तथा ग्रीसको कम्युन‌िष्ट पार्टी लगायतका आफुभन्दा फरक मत राख्‍नेहरुमाथि हमला गरेको आरोप लागेको छ।

उक्त दलले आफु नवनाजी आन्दोलन भएको भन्ने आरोपहरुको खण्डन गरेको छ।

तर उसका सदस्यहरुले लगाउने ब्याज स्वस्तिका जस्तो देखिन्छ र उसका केही वरिष्ठ नेताहरुले एडोल्फ हिटलरको प्रशंसा गरेका थिए।