इटलीमा मन्त्रीहरुको राजीनामापछि राजनीतिक संकट

  • 29 सेप्टेम्बर 2013
इटलीका राष्ट्रपति जीओर्जीओ नापोलिटानो
Image caption राष्ट्रपति नापोलिटानोले देशलाई अहिले अस्थिरता नभई निरन्तरता चाहिएको बताएका छन्

इटलीमा भूतपूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको पार्टीका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएपछि देशले नयां राजनीतिक संकटको सामना गर्दैछ।

ति मन्त्रीहरु नै सिल्भीयो बेर्लुस्कोनीको मध्य दक्षिणपन्थी दल र त्यसको कडा प्रतिद्वन्द्वी मध्य वामपन्थीहरु मिलेर बनेको केहि अप्ठेरो संरचनाको हालको गठबन्धन सरकारको मुख्य खम्बा थिए।

इटली सरकारभित्रको तनाव हालैका दिनमा चरम स्थितीमा पुग्दा मध्य वामपन्थी प्रधानमन्त्री एनरिको लेट्टाले, आफ्नो प्रशासनले संसदमा विश्वसको मत नपाएसम्म त्यसको काम कार्वाही नै अघि नबढाउने बताएका थिए।

तर भूतपूर्व प्रधानमन्त्री बेर्लुस्कोनीले आफू कर सम्बन्धी एउटा महत्वपूर्ण विषयलाई संसदमा रोकिराख्‍ने कुरामा सहमत हुन नसक्ने बताएका थिए।

परिणाम स्वरुप उनका मन्त्रीहरुले सरकारबाट राजीनामा दिए।

प्रतिक्रिया

यसप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाउंदै प्रधानमन्त्री लेट्टाले त्यो सब एउटा 'ठूलो झुठ' भएको बताएका थिए।

उनले सिल्भियो बेर्लुस्कोनीले आफूमाथि अहिले परेको समस्याबाट ध्यान अन्यत्र तान्ने प्रयास गरेको आरोप पनि लगाए।

हालै एउटा अदालतले कर छलीको अभियोगमा दोषी ठहर गरेपछि बेर्लुस्कोनीले संसदबाट बर्खास्त हुनुपर्ने अपमानजनक अवस्थाको सामना गर्नुपर्ने स्थिती छ।

इटलीका राष्ट्रपति जीओर्जीओ नापोलिटानोले मन्त्रीहरुको राजीनामाले देशको समस्या समाधानको दिशामा अवरोध सिर्जना गर्ने बताएका छन्।

उनले भने, “हामीलाई अहिले छलफल गर्ने र काम गर्न संसद चाहिएको छ, हामीलाई भंग भैरहने संसद चाहिएको होइन। हामीलाई निरन्तर निर्वाचन पनि चाहिएको छैन।

“हामीलाई सरकारको काम कार्वाहीमा निरन्तरता चाहिएको छ। देशको समस्या समाधान गर्नका लागि आवश्यक कामबारेका निर्णयहरुमा निरन्तरता चाहिएको छ।“

सम्भावना

इटलीको राजनीतिक वातावरण अहिले अनिश्चित छ। यस्तो समयमा राष्ट्र प्रमुखको भुमिकामा रहेका राष्ट्रपति नापोलिटानो एकदमै महत्वपूर्ण व्यक्तित्व बन्न पुगेका छन्।

अब संसद भंग गर्ने की नगर्ने भन्ने निर्णय गर्ने दायित्व उनकै कांधमा छ। संगसंगै नयां निर्वाचनको सम्भावना पनि बढेर गएको देखिन्छ।

तर इटलीले भर्खर भर्खर मात्र लामो समयसम्मको आर्थिक संकटबाट पार लाग्न लागेको संकेत देखिन थालेको थियो। र थुप्रै मानिसको विश्वासमा नयां निर्वाचन अभियानको अनिश्चितताको आवश्यकता देशलाई अहिले छैन।

यो चिन्तालाई ध्यानमा राख्दै राष्ट्रपतिले निर्वाचन आह्वान गर्नुको साटो अर्को नयां गठबन्धन सरकार बनाउन सहयोग गर्न सक्नेछन्।

आइतबार उनले प्रधानमन्त्री एनरिको लेट्टासंग भेट गर्ने अनुमान छ।