एक हप्तामै पेशावरमा फेरि बम विस्फोट

  • 29 सेप्टेम्बर 2013
Image caption पाकिस्तानमा कार बम विस्फोट हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ

पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहरमा भएको विष्फोटमा कम्तिमा ३३ जनाको निधन भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले जनाएका छन्।

प्रहरीले भनेको छ किसा ख्वानी बजारमा बम विस्फोट हुँदा पसलहरु र सवारी साधनमा आगो लागेको थियो।

एउटा गिर्जाघरमा दुइवटा आत्मघाती बम विस्फोटमा कम्तिमा ८० जनाको ज्यान गएको एक हप्ता पछि फेरि अर्को बम विस्फोट भएको हो।

गत शुक्रबार पनि पेशावर नजिकै सरकारी कर्मचारी सवार एउटा बसमा बम पड्किँदा १७ जना मानिसको निधन भएको थियो।

खीबर पखतुन्ख्वा राज्यको मुख्य शहर पेशावरमा केहि वर्ष यता अनगिन्ति बम र बन्दुक आक्रमण हुँदै आएका छन् र त्यसको दोष तालीबान विद्रोहीहरुमाथि लगाउने गरिएको छ।

अस्पतालमा संकटकाल

प्रहरीले कार बम विस्फोट भएको आशंका गरेको छ।

पाकिस्तानको एउटा दैनिक अखबार डनले स्वास्थ्य मन्त्रीलाई उदृत गर्दै पेशावरको मुख्य प्रहरी चौकी आक्रमणको निशाना बनाइएको हुन सक्ने जनाएको छ।

बम निश्क्रिय पार्ने इकाइका प्रमुख शफकत मलिकले चौकी भन्दा केहि पर विस्फोटन भएको बताएका छन्।

उनले एएफपीलाई एउटा पार्किङमा रहेको कारलाई रिमोट कन्ट्रोल्ड बम दुर सन्चालित बममा परिणत गरिएको थियो।

भयानक विस्फोट

एकजना पसले नजार अलीले समाचार संस्था एपीलाई भनेका छन्," त्यो भयानक विस्फोट थियो जुन पछि सवारी साधनहरुमा आगो लागेको थियो। धुवाँको कालो मुश्लो वायुमण्डल भरिएको थियो र स साना कणहरु जताततै छरिएका थिए। मैले मानिसहरु भुइमा लडेर मरेको र रगत बगिरहेको देखें।"

स्थानीय लेडी रीडीङ अस्पतालमा संकटकाल घोषणा गरिएको थियो जहाँ घाइतेहरुलाई ल्याइएको थियो।

अधिकारीहरुका अनुसार ७६ जना मानिसहरु घाइते भएका थिए।

चिन्तित आफन्तहरु समाचारको पर्खाइमा अस्पताल बाहिर जम्मा भएका थिए।

बढ्दो हिंसाले नयाँ प्रधानमन्त्री नवाज शरिफको तालीवानहरुसँग शान्ति वार्ता गरेर विद्रोह साम्य पार्ने प्रस्तावलाई बाधा पुर्‍याइरहेको छ।