उम्मेदवारी छनौटमा विवाद कायमै

  • 1 अक्टोबर 2013
Image caption नेकपा एमालेले मंगलवार २ सय ३८ क्षेत्रको उम्मेदवार घोषणा गरेको छ।

मंसिर चारको चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न तोकेको समयको दुई दिनअघि प्रमुख पार्टीहरुले प्रत्यक्षतर्फका उम्मेदवार छनौट टुंग्याउन सकेका छैनन्।

आयोगले दलहरुको आग्रहमा एक साता थपिदिए पनि उम्मेदवारी छनौटमा ती दलहरुभित्रको किचलो छताछुल्ल भएको छ।

आयोगको समयतालिका अनुसार पार्टीहरुले प्रत्यक्षतर्फ बिहीवार र समानुपातिक उम्मेदवारी शुक्रबार दर्ता गर्नुपर्नेछ।

टुंगो

उम्मेदवार छनौटको प्रयास पहिलादेखि थालेको एमालेले मंगलबार प्रत्यक्ष तर्फका २४० मध्ये २३८ जनाको नाम टुंगो लगाएको छ।

रौतहट–३ र भक्तपुर–१ मा भने एमाले तर्फबाट उम्मेद्वार तोकिएको छैन ।

पहिला काठमाण्डू र आफ्नै गृहजिल्ला रौतहटबाट हारेका एमाले नेता माधव नेपाल पुरानै ठाउँबाट उठ्ने भएका छन्।

अघिल्लो चुनावमा इलामबाट जितेका अध्यक्ष झलनाथ खनालले उम्मेदवारीको निम्ति तराईको सर्लाही पनि रोजेका छन्।

एमालेका प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले भने, "धेरै वरिष्ठ नेताको दोहोरिएको छ, मधेशबाट राष्ट्रिय नेतृत्वको विकास गर्न जरुरी भएकोले अध्यक्षले त्यो क्षेत्र रोज्नुभएको छ।"

नेपाली कांग्रेसले प्रत्यक्षतर्फका उम्मेद्वारको नाम टुंगो लगाइसकेको संसदीय बोर्डका सदस्य विमलेन्द्र निधिले बताएका छन्।

तर मंगलवार साँझ अबेरसम्म पनि नामावली सार्वजनिक गरेको छैन ।

विवाद

पार्टीको आन्तरिक किचलोका कारण उम्मेदवार छनौट गर्ने निकाय गठन गर्नै ढिलो गरेको कांग्रेसभित्र उम्मेदवार छनौटमा शीर्ष नेताबीच नै मतभेद देखिएको छ।

नेतृ सुजाता कोईरालाले पत्रकार सम्मेलनमा पार्टी निर्णयको विरोध गर्दै भनिन्, "नेपाली कांग्रेसको आधार क्षेत्र तराईमा अन्य पार्टिका नेता स्थापित गर्न हाम्रै नेताहरुले सहयोग गरिरहेका छन्, यो खतरनाक कुरा भयो।"

एकिकृत नेकपा माओवादीमा नवप्रवेशीलाई टिकट दिने विषयले विवाद बढाएको देखिन्छ।

स्थानीय स्तरका नेतालाई तथा पुराना नेतृत्वलाई पाखा लगाइएको भन्दै कतिपयले जिल्लाहरुमा पार्टी विरुद्ध विद्रोह गर्ने चेतावनी दिएका खबरहरु आएको छ।

उक्त दलका प्रवक्ता अग्नि सापकोटाले अझै एकतिहाई निर्वाचन क्षेत्रमा निर्णय गर्न बाँकीँ रहेको बताए।

निर्वाचन आयोगको कार्यतालीका अनुसार प्रत्यक्षतर्फका उम्मेद्वारी बिहीबार दर्ता गरेपछि त्यसको भोलिपल्टै दलहरुले समानुपातिक उम्मेदवारको सूचि पनि पेश गर्नुपर्ने छ।