दुई ठाउँबाट निर्वाचन लड्ने प्रवृत्तीको आलोचना

  • 2 अक्टोबर 2013
झलनाथ खनाल सहितका ठूला नेताहरु
Image caption एमालेका झलनाथ खनाल, कांग्रेसका सुशील कोइराला एमाओवादीका प्रचण्ड लगायतका ठूला नेता दुई ठाउँबाट लड्ने बताइएको छ

राजनीति र निर्वाचनलाई नजिकबाट नियाली रहेकाहरुले दुई ठाउँबाट लड्ने प्रवृत्तीलाई नेताहरुमा व्याप्त पराजयको त्रास र मतदाता माथिको अन्यायको रुपमा हेरेका छन्।

तर दलहरुले भने त्यस्तो कदमलाई परंपरागत भन्दै सम्भावित प्रधानमन्त्रीका उम्मेदवारलाई जिताउन यसो गरीएको बताउँछन्।

विगतमा झैं यस पटक पनि ठूला भनिएका दलका कतिपय शिर्ष नेताहरु दुई निर्वाचन क्षेत्रबाट भिडन लागेको बताइएको छ।

नेताहरुमा आत्मविश्वासको कमीले यस्तो भएको पुर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले बताए।

चुनावी मैदान

"नेताहरुमा जितिन्छ भन्ने आत्मविश्वास कमजोर भएकोले गर्दा दुई ठाउँबाट उठेको हुन सक्छ, हार्‍यो भने त कहिं पनि नहुने भो नि।"

मंसीर ४ गतेका लागि तय चुनावमा नेकपा एमालेबाट झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, ने‌पाली कांग्रेसबाट सुशील कोइराला र शेरबहादुर देउवा र एकीकृत माओवादीबाट प्रचण्ड जस्ता शीर्ष नेता दुई ठाउँबाट लड्ने बताइएको छ।

राजनीतिक विश्लेषक कृष्ण खनालले यस्तो प्रवृत्तीको तिखो आलोचना गरे।

"यो परम्परा मतदाताको लागि पनि अपमान हो, किनकी दुई ठाउँमा जित्नु भो भने एक ठाउँमा त छोड्नु हुन्छ उहाँहरुले।

“एउटा नेताको तुष्टिको निम्ति किन मतदाताले छ सात महिनाकोबीचमा भोट खसाउन जाने?"

तर ठूला दल यस्तो परंपराको बचाउ गर्छन्।

नेकपा एमालेका नेता रघुजी पन्तले सम्भावित प्रधानमन्त्रीका उम्मेदवारहरुलाई हराउने खेलहरु हुन सक्ने बताए।

“त्यसैले उहाँहरुलाई दुई ठाउँमा उम्मेदवार हुने प्रावधान राख्नुपर्छ भन्ने भाको हो।"

दुई स्थानबाट एकै व्यक्तीले चुनाव जितेमा एक ठाउँमा पुन: उप-निर्वाचन गर्नुपर्ने हुँदा आर्थिक बोझ र मतदातामा झमेला थपिने चिन्ता निर्वाचन आयोगले पहिले नै सार्वजनिक गरेको थियो।