'सिक्किमिकरण गर्न सेना परिचालन'

  • 2 अक्टोबर 2013
असन्तुष्ट माओवादी नेताहरु
Image caption चुनावमा सेना परिचालन गर्ने निर्णय शान्ति सम्झौता विपरित रहेको नेकपा-माओवादीको ठहर छ

मंसिर ४ गते तोकिएको संविधानसभा चुनाव वहिष्कार गर्ने निर्णय गरेको नेकपा-माओवादीले मुलुकलाई सिक्किमिकरण गर्ने उदेश्यले चुनावमा नेपाली सेना उतार्न लागिएको आरोप लगाएको छ।

आफूहरुसँग वार्ता गरेका सरकारपक्षीय दलहरु चुनावमा होमिएपछि उसले बुधबार पत्रकार सम्मेलन गरी उक्त योजना सफल बनाउन नै मुलुकलाई नयाँ द्वन्द्वमा फसाउन खोजिएको आरोप लगाएको हो।

'जनयुद्धको जगमा जनविद्रोह गर्ने नीति' लिएको उक्त दलले चुनाव बहिष्कारका क्रममा सरकारले जनाउने प्रतिकृयामा आफ्नो भावि कदम निर्भर हुने बताएको छ।

सरकार पक्षीय दलसँगको वार्ता अवरुद्ध भएपछिको परिस्थितबारे नेकपा-माओवादीले पोलिटब्युरो बैठकमा छलफल गरेको थियो।

अन्त्य

बैठकको निर्णय सुनाउँदै पार्टी महासचिव रामबहादुर थापाले भने, "शान्ति प्रकृया भंग गरेर ‌‌‌नेपाली जनता र सेनालाई भिडाएर अन्त्यमा देशलाई सिक्किमिकरण गर्न खोजिएको बैठकको निर्णय छ।"

चुनाव शान्तिपूर्ण गराउने उद्देश्यले सेना परिचालन गर्ने निर्णय लिएको सरकारले बताउने गरेको छ।

तर आफूलाई सरकार पक्षले संविधानसभा, सहमति र वार्ता विरोधी देखाएर दमन गर्ने पृष्ठभूमि बनाउन खोजेको माओवादीको बुझाई छ।

त्यसैले जारी वार्ता अन्त्य भएको घोषणा गर्दा अध्यक्ष मोहन वैद्यले त्यसको दोष प्रमुख पार्टीहरुमाथि लगाए।

आरोप

उनले भने, "हाम्रा जायज मागहरुप्रति चारदलद्वारा असहमति र विरोध जाहेर गरिएको अवस्थामा एउटा प्रकृयाको वार्ता अन्त्य भयो र त्यो उनीहरुले गरेको हो, हामीले होइन।"

पार्टी नेतृत्वले क्रान्तिमाथि गद्दारी गरेको निचोडका साथ एकीकृत माओवादीबाट छुट्टिएको नेकपा-माओवादी फेरी सशस्त्र विद्रोहको पक्षमा रहेको कयौंको बुझाई पाइन्छ।

त्यसैले कतिपयको जिज्ञासा पाइन्छ, के उसले सुरक्षाको अन्तिम अंग सेना नै उतारिने चुनाव बिथोल्ने सामर्थ्य राख्ला?

चुनावको सशक्त वहिष्कार गर्ने घोषणा गरेको पार्टीका अध्यक्ष वैद्यले आफ्नो वहिष्कारका कारणले चुनाव हुन नसक्ने ठोकुवा गरेनन्, बरु टिकट पाएकालाई उम्मेदवारी नदिन र मतदातालाई भोट नहाल्न आग्रह गरिने जनाउँदै मूल प्रश्न अनुत्तरित नै छाडिदिए।

फोका

उनको भनाई थियो, "त्योबेला उहाँहरु (सरकार र सरकार पक्षीय दलहरु) ले के गर्नु हुन्छ, अनि त्यसपछि के गर्ने भन्ने कुरा त्यही बेला थाहा हुन्छ अहिले भन्ने कुरा होइन्।"

भारतीय प्रधानमन्त्रीसँग भेटको साइत जुराइ दिएको राष्ट्रसंघको कार्यक्रमबाट फर्किँदा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनावको विरोध र त्यसप्रतिको असन्तुष्टी पानीको फोका साबित हुने प्रतिकृया दिएका खबरहरु आएका थिए।

अध्यक्ष वैद्यले न्यायपालीकाका प्रमुख समेत रहेका रेग्मीलाई तानाशाहको संज्ञा दिँदै इतिहासमा उनी नै पानीको फोका सावित हुने जवाफ फर्काएका थिए।

एकअर्कालाई पानीको फोका सावित गराउने दुबै पक्षको तयारी र चेतावनीको मारमा देश भने सधैं अलपत्र परिरहने चिन्ता बढदो रुपमा पाइन्छ।