पानीजहाज दुर्घटनामा एक सय भन्दा बढीको मृत्यु

  • 3 अक्टोबर 2013
उद्धारकर्मीहरु
Image caption कैयौ आप्रवासीहरु लाम्पेदुसा नगरलाई युरोपको प्रवेश विन्दु पनि ठान्दछन्

इटलीका तटरक्षकहरुले अफ्रिकी आप्रवासीहरु लगेर गैरहेको एउटा पानीजहाज आगलागी पछि डुब्दा एक सय भन्दा बढी शवहरु फेला परेका जनाएका छन्।

झण्डै दुईसय जना यात्रुहरुको अवस्था अझै अज्ञात छ।

इटलीका प्रधानमन्त्रीले उक्त घटना एउटा अत्यन्त ठूलो त्रासदी भएको बताए।

मारिनेहरुमा गर्भवती महिला तथा केटाकेटीहरु पनि छन्।

इटलीका अधिकारीहरुले डेढसय भन्दा बढीलाई समुद्रबाट उद्धार गरिएको र खोजी कार्य जारी रहेको जनाएका छन्।

पानी जहाज क्षतिग्रस्त भएपछि मदत जुटाउनकालागि सानो आगो बालिएको बताउँदै गर्दा स्थानीय मेयर रोएकी थिइन्।

पछि आगो नियन्त्रणभन्दा बाहिर गएको थियो।

आप्रवासी

रोमस्थित राष्ट्रसंघीय शरणार्थी संस्थाका एकजना प्रवक्ताले उक्त पानीजहाज लिबियाबाट प्रस्थान गरेको र यात्रुहरुमध्ये धेरैजसो एरिट्रियाबाट आएका आप्रवासीहरु रहेको जनाएका छन्।

रोयटर्स समाचारसंस्था संग कुरा गर्दै इटलीका यातायात मन्त्री मौरिजियो लुपीले भने, लम्पुदेसाको घटना कुनै पनि मानिसले सहन नसक्ने अत्यन्तै दुखद त्रासदी हो।

लाम्पेदुसाकी मेयर ज्युसी निकोलिनीले त्यहाँ सन्त्रासको स्थिति कायमै रहेको बताइन्।

अफ्रिकी मुलुक ट्युनिसिया तथा इटलीकै सिसिली शहरबीच रहेको लाम्पेदुसा युरोपेली संघमा प्रवेश गर्न चाहने आप्रवासीहरुको पहिलो प्रवेश विन्दुको रुपमा पनि चिनिन्छ।

ट्विटरबाट प्रेषित आफ्नो सन्देशमा क्याथोलिक इसाईहरुका धर्मगुरु पोप फ्रान्सिसले पानी जहाज दुर्घटनाका पीडितहरुका लागि प्रार्थना गर्न आफ्ना अनुयायीहरुलाई आह्वान गरेका छन्।

निन्दा

पोप फ्रान्सिसले गत जुलाई महिनामा लाम्पेदुसाको भ्रमण गरेर त्यहाँ आउन खोज्ने आप्रवासीहरुको अवस्थालाई देखेपनि नदेखेझैं गर्ने विश्वव्यापी प्रवृत्तिको निन्दा गरेका थिए।

रोमस्थित बीबीसीका संवाददाता एलन जोन्स्टन भन्छन्, यो याममा भूमध्यसागरमा ठूल्ठूला छालहरु नआउने भएकाले अफ्रिका तथा मध्यपूर्वका आप्रवासीहरु बोकेका डुँगाहरु इटलीको दक्षिणी तटवर्ती क्षेत्रहरुमा आउने गर्दछन्।

तर प्राय: जीर्ण अवस्थाका ती डुँगाहरुले क्षमताभन्दा बढी यात्रुहरु बोकेका हुन्छन्।

यसै साताको शुरुमा पनि इटलीको सिसिली नगरतर्फ जाँदै गरेको एउटा डुँगा डुब्दा तेह्रजना आप्रवासीहरुको ज्यान गएको थियो।

संयक्त राष्ट्रसंघले गत वर्ष युरोप पुग्ने प्रयास गरिरहेका झण्डै पाँचसय मानिसहरु समुद्रमा डुबेका वा हराएका जनाएको छ।