अमेरिकि बजेट अवरोध हटाउन गरिएको वार्ता विफल

  • 3 अक्टोबर 2013
राष्ट्रपति ओबामा
Image caption बजेट संकटले आफुलाई क्षुब्ध बनाएको राष्ट्रपतिको भनाई छ

बजेट अवरोधको संकट टार्न ह्वाइट हाउसद्वारा आयोजित छलफल विफल भएको छ।

छलफल राम्रो भएको तर कुनै प्रगती नभएको सहभागीहरुले बताएका छन्।

प्रतिनिधि सभाका सभामुख तथा रिपब्लिन नेता जोन बेनर, माथिल्लो सदन सिनेटका बहुमत दल डेमोक्रयाटका नेता ह्यारी रेड, सिनेटकै रिपब्लिकन नेता मीच मक्कोनेल र प्रतिनिधि सभाकी डेमोक्रयाट नेतृ न्यान्सी पेलोसी छलफलमा संलग्न थिए।

अस्वीकार

उक्त छलफल अघि दुई दलले आ आफ्नो तर्फबाट प्रस्तुत प्रस्तावलाई अस्वीकार गरेका थिए।

ओबामा केयर भनिने राष्ट्रपतिद्वारा प्रस्तुत स्वास्थ सेवासम्बन्धी विधेयकका पाटाहरुबारे विपक्षी रिपब्लिकनहरु असन्तुष्ट छन्। त्यसको विरोधमा उनीहरुले बजेट पारित गर्न अवरोध गरेका हुन्।

विपक्षी रिपब्लिकन दलका एक अनुदारवादी खेमाले देशलाई यो अवस्थामा पुर्‍याएको राष्ट्रपति ओबामाको आरोप छ।

बजेट अवरोधको संकट टार्न आयोजित छलफल विफल हुँदै गर्दा, अमेरिकि राष्ट्रपति बराक ओबामाले भनेका छन् अमेरिकाले आफ्ना कर्जा तिर्न नसक्ने अवस्था आउन सक्नेप्रति वाल स्ट्रिट अब चिन्तित हुनुपर्छ।

बुधवार राष्ट्रपतिले वाल स्ट्रिटका सबभन्दा ठूला बैंकहरुका प्रमुखसंग भेटेका थिए।

ती बैंकरहरुले कंग्रेसलाई कर्जा सीमा बढाउन चिठी लेखेका थिए।

सेवा बन्द

अमेरिकि सदन कंग्रेस बजेट पारित गर्न सहमत नभएपछि, अमेरिकि सरकारले आफ्ना सेवाहरु आंशिक बन्द गरेको छ।

अमेरिकि सरकारले आफ्ना सबै गैर अत्यावश्यकीय सेवाहरु मंगलबारदेखि बन्द गराएको छ।

जसका कारण करीब सात लाख कर्मचारीहरु बेतलबी विदामा परेका छन्।

Image caption विपक्षी रिपब्लिकनका नेता तथा सभामुख बेनर, बजेट संकट सुल्झाउन राष्ट्रपतिसंग छलफल गर्न गएका थिए

राष्ट्रिय निकुञ्ज, पर्यटकिय स्थल, सरकारी वेबसाइट तथा कार्यालय भवनहरु बन्द गरिएका छन्।

बजेट अवरोधकै कारण गुप्तचर निकायहरु समेत समस्यामा परेको अधिकारीहरुले बताएका छन्।

माथिल्लो सदन सिनेटको सुनुवाईमा बोल्दै नेशनल इन्टलिजेन्सका निर्देशक जेम्स क्ल्याप्परले बजेट संकटका कारण सेना तथा नीतिनिर्माताहरुलाई सघाउने क्षमतामा गम्भीर नोक्सान हुने बताए।

“एउटा खतरा के छ भने, यो समयक्रमसंगै बढ्दै जान्छ। भित्रभित्रै नोक्सानी निकै हुँदै जान्छ। प्रत्येक दिनसंग यो जोखिम बढ्दै जान्छ,” क्ल्याप्परको भनाई।

कर्जा संकट

वाशिंगटन डिसीमा बजेट संकट चल्दै गर्दा आउने साताहरुमा त्यो भन्दा डरलाग्दो संकट आइपर्दैछ।

अक्टोबर १७ तारीखभित्र कर्जाको सीमा संसदले नबढाइदिए, अमेरिकि सरकारसंग पैसा रित्तिने छ र उसले भुक्तानी गर्नुपर्ने रकमहरु भुक्तानी गर्न सक्ने छैन।

बजेट र कर्जाका यी दुवै विषयहरुमाथि सहमतिमा आउनु अघि तल्लो सदनमा बहुमत रहेका विपक्षी रिपब्लिकनहरुले राष्ट्रपति ओबामा तथा उनको दल डेमोक्र्याटसंग केही विषयमा लचकता चाहेका छन्।

खासगरी उनीहरुले राष्ट्रपतिको महत्वाकांक्षी स्वास्थ उपचार योजना ओबामा केयरलाई या त खारेज गरिनुपर्ने नभए पछि धकेल्नुपर्ने माग गरेका छन्।

सो योजना सन् २०१० मै डेमोक्र्याटहरुले पारित गरिसके।

त्यसका महत्वपूर्ण अंश मंगलबारदेखि कार्यान्वयनमा आएका छन्।