इटलीमा शवहरुको खोजी जारी

  • 4 अक्टोबर 2013
मृतकहरु
Image caption डुँगा दुर्घटनामा ज्यान गुमाउनेहरुमा महिला तथा केटाकेटी पनि छन्

इटलीका गोताखोरहरुले समुद्रसतहभन्दा झण्डै पचास मिटर मुनि समुद्रको पिंधमा दुर्घटनाग्रस्त एउटा ठूलो डुँगामा सवार मृतकहरुका शव खोजी गरिरहेका छन्।

एक सय भन्दा बढी शवहरु फेला परिसकेका छन्।

तर मृतकहरुको संख्या त्यसको दोब्बर हुनसक्ने आशँका गरिएको छ।

अफ्रिकाबाट आएका आप्रवासीहरु यात्रा गरिरहेको सो डुँगा इटलीको ल्याम्पेडुसा टापुबाट केवल एक किलोमिटर टाढा समुद्रमा डुबेको थियो।

इटलीका अधिकारीहरुले अहिलेसम्म कम्तीमा एकसय एघारवटा शव फेला परेको र दुई सयजना हराइरहेको बताएका छन्।

अहिलेसम्म फेला परेका शवहरुमा चारजना बालबालिका तथा कैयौं महिलाहरु रहेको बताइएको छ।

राष्ट्रिय शोक

इटलीमा राष्ट्रिय शोकको घोषणा गरिएको छ।

देशभरि झण्डा आधा झुकाइएको थियो भने विद्यालयहरुमा एक मिनट मौन धारण गरिएको थियो।

इटलीका गृह मन्त्री एन्जेलिनो अल्फानोले भने, "यो इटलीको त्रासदी मात्रै होइन, पुरै युरोपको त्रासदी हो।"

उक्त डुँगा लिवियाबाट इटलीतर्फ प्रस्थान गरेको ठानिएको छ।

बीस मिटर लामो उक्त डुँगामा झण्डै पाँचसय मानिसहरु सवार थिए।

ती मध्ये धेरैजसो इरिट्रिया र सोमालियाका नागरिकहरु भएको संयुक्त राष्ट्र संघले जनाएको छ।

उद्धार

उद्धारकर्ताहरुले डेढसयभन्दा बढी मानिसहरुलाई उद्धार गरेका थिए।

सो दुर्घटनामा बाँच्न सफल मानिसहरुले मोटरचालित उक्त डुँगाको इन्जन बिग्रेपछि मदत माग्न एकजना यात्रुले लगाएको आगो फैलिएपछि डराएका यात्रुहरु अर्को भागतिर दौडँदा डुँगा डुबेको बताएका छन्।

अफ्रिकी मुलुक ट्युनिसिया तथा इटलीकै सिसिली शहरबीच रहेको ल्याम्पेडुसा युरोपेली संघमा प्रवेश गर्न चाहने आप्रवासीहरुको पहिलो प्रवेश विन्दुको रुपमा पनि चिनिन्छ।

यो वर्ष गएको नौ महिना यता समुद्री मार्ग हुँदै इटली आइपुगेका आप्रवासीहरुको संख्या तीस हजारभन्दा बढी रहेको राष्ट्र संघले जनाएको छ।