दलहरुले बुझाए समानुपातिकको बन्द सूची

  • 4 अक्टोबर 2013
Image caption दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फ उम्मेदवारको बन्द सूची बुझाएका छन्

राजनीतिक दलहरुले समानुपातिक प्रणालीका लागि निर्वाचन आयोगमा शुक्रबार उम्मेदवारको बन्द सूची बुझाएका छन्।

बन्द सूचीलाई अन्तिम रुप भने कात्तिकको अन्ततिर मात्र दिइने निर्वाचन आयोगले जनाएको छ।

संविधानसभालाई प्रतिनिधिमूलक बनाउन भन्दै अघिल्लो संविधानसभादेखि शुरु गरिएको समानुपातिक प्रणाली अन्तर्गत ३३५ जना सदस्य चयन हुनेछन्।

अन्तिम घडि

प्रत्यक्ष निर्वाचनका लागि अन्तिम समयमा उम्मेदवार तय गरेका मुख्य दलहरुले समानुपातिक सूची तयारीका लागि पनि अन्तिम घडि नै कुरेका थिए।

आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार समानुपातिक अन्तर्गत १ सय २३ दलले सूची बुझाएका छन्।

यस अघि समानुपातिक प्रणालीमा भाग लिन १ सय २४ वटा दलले आयोगमा आवेदन दिएका थिए।

प्रत्यक्ष निर्वाचन मात्र गर्दा महिला, मधेशी, जनजाति, दलित लगायतका वर्गले उचित प्रतिनिधित्व गर्न नपाएको भन्दै करीब पाँच वर्ष अघि भएको पहिलो संविधानसभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अपनाइएको थियो।

पहिलो निर्वाचन भन्दा आगामी संविधानसभा निर्वाचनको समानुपातिक प्रतिनिधित्वको प्रकृति खासै फरक नहुने कतिपयले बताउँदै आएका छन्।

समानुपातिक

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, "पार्टीमा खटेका तल्लो तहका समुदायका प्रतिनिधिलाई दिने भन्ने हो, तर त्यसो भनेर विभिन्न व्यवसायिक समूह पनि हामी छुटाउँदैनौ।"

अघिल्लो निर्वाचनमा दुइ क्षेत्रमा उम्मेदवार बनेर हारेका राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि अघिल्लो निर्वाचनमा प्रत्यक्षबाट जितेपनि एमालेबाट फुटेर संघीय समाजवादी दल खोलेका अध्यक्ष अशोक राई लगायतका नेताहरुले यसपटक प्रत्यक्षबाट हात झिकेर समानुपातिक रोजेका छन्।

समानुपातिक प्रणाली रोज्नुको कारण खोल्दै अध्यक्ष राइले भने, "चुनाव लडनु बहादुरी देखाउने काम मात्र होइन, सोचेर बुद्धिले काम लिने हो, मलाई देशभर घुम्नुपर्छ त्यसैले पनि मैले प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार बनिनँ।"

समानुपातिक प्रणाली यस अघिको संविधानसभामा खासगरी साना दलका अध्यक्ष लगायत मुख्य नेताहरुका लागि सभासद बन्ने सुरक्षित उपायका रुपमा उपयोग भएको देखिएको थियो।

काठमाडौंस्थित बीबीसीकी संवाददाता भन्छिन्, यसपटक साना लगायत अन्य दलका मुख्य नेताहरुले समानुपातिकमा बस्न रुचाउनुलाई विश्लेषकहरु चुनाव प्रणालीको दुरुपयोग ठान्छन्।

सम्बन्धित समाचार