उम्मेदवारको सुरक्षा जोखिम समीक्षा गरी सुरक्षा प्रबन्ध गर: आयोग

  • 5 अक्टोबर 2013
निर्वाचन आयोग
Image caption निर्वाचन आयोगले उम्मेदवारको सुरक्षाको लागि आवश्यक व्यवस्था गर्न सरकारलाई शुक्रबार आग्रह गरेको छ।

उम्मेदवारहरुको सुरक्षा जोखिम समीक्षा गरेर आवश्यकता अनुसार सुरक्षा प्रबन्ध सरकारले तुरुन्त मिलाउनुपर्ने निर्वाचन आयोगका एक जना आयुक्तले बताएका छन्।

नेकपा एमालेका प्रत्यक्ष तर्फका एकजना उम्मेदवारमाथि शुक्रवार बारामा गोली प्रहार भएपछि आयोगले उम्मेदवारलाई सुरक्षा दिन शुक्रवारै सरकारलाई आदेश दिएको थियो।

चरित्र

नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेना सम्मिलित एकिकृत सुरक्षा रणनीति कार्यान्वयन भइसकेको भए पनि यसलाई अझ सशक्त पार्नु आवश्यक रहेको निर्वाचन आयोगका एकजना आयुक्त रामभक्त पीबि ठाकुरले बताएका छन्।

सरकारले आयोगलाई सम्पुर्ण सुरक्षाको वन्दोवस्त भएकोमा विश्वास दिलाए पनि फितलो कार्यान्वयनलाई अझै सुदृढ पार्न सरकारले कसरत गर्नु पर्ने धारणा उनले व्यक्त गरेका हुन्।

प्रत्येक उम्मेदवारको चरित्र अनुसार सुरक्षा चुनौती अध्ययन गरेर सुरक्षा व्यवस्था गर्नु पर्ने उनले बताए।

उनले भने, "जो, जो उम्मेदवारहरु जोखिममा छन् र जसलाई चाहिं आक्रमण हुन सक्छ, त्यस्तो व्यक्तिको पृष्ठभूमी र चरित्र हेरेर सुरक्षा निकायले बुझ्न सक्छ कि उसलाई कत्तिको सुरक्षा दिनुपर्छ। त्यही अनुसार सुरक्षा देऊ।"

शंका

जुनसुकै कारणले भए पनि शुक्रवार नेकपा एमालेका एकजना उम्मेदवारलाई बारामा गोली प्रहार भएपछि यस्ता घटनाहरुबाट चुनावी माहोलमा आशंका बढ्न नदिन सरकारलाई उम्मेदवारको सुरक्षा गर्न आग्रह गरिएको उनले बताए।

"यस किसिमको घटना दोहोरिन दिनु हुँदैन। सरकारले गम्भीर रुपमा ध्यान दिनु पर्‍यो ताकि चुनावको माहोल चलिरहेको बेला कसैलाई शंका गर्ने ठाउँ नहोस्," आयुक्त ठाकुरले भने।

अहिले उम्मेदवारलाई बढि सुरक्षा चुनौति भए पनि मतदानको समयमा मतदातालाई पनि मध्य नजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउन आयोगले सरकारलाई भनेको छ।