रासायनिक अस्त्र नष्ट गर्न शुरु

  • 6 अक्टोबर 2013
राष्ट्रसंघीय निरीक्षकहरु चढेका सवारी
Image caption राष्ट्रसंघीय निरीक्षकहरुले दमस्कस बाहिर सरिन ग्याँस प्रयोग गरिएको पुष्ट गरेका छन्

निशस्त्रीकरणसंबन्धी अन्तर्राष्ट्रिय निरीक्षकहरुको एक समूहले सिरियाका रासायनिक हातहतियार भण्डार तथा उत्पादन केन्द्रहरु नष्ट गर्ने काम शुरु गरेको छ।

एकजना अधिकारीले बीबीसीलाई भने, संयुक्त राष्ट्र संघ तथा रासायनिक अस्त्र निषेध संगठनका निरीक्षकहरुले सिरियाको एउटा केन्द्रमा रासायनिक अस्त्रहरुको प्रमाणिकरण तथा नष्ट गर्ने काम शुरु गरेका छन्।

त्यो ठाउँको नाम भने खुलाइएको छैन।

युद्ध शिर्ष, बमहरु तथा उत्पादन उपकरणहरु नष्ट गर्न ठूल्ठूला यातायात साधनहरु आवश्यक पर्ने ठानिएको छ।

दमस्कसको बाहिरी भेगमा गत अगष्ट २१ तारिखमा रासायनिक अस्त्रहरुको प्रयोग गरी एउटा गम्भीर हमला गरिएपछि संयुक्त राज्य अमेरिकाले सिरियामाथि हवाइ हमला गर्ने चेतावनी दिएको थियो।

हमला

ती हमलामा महिला तथा केटाकेटी सहित सैयौंको ज्यान गएको थियो।

त्यसपछि एउटा राष्ट्रसंघीय प्रस्ताव अनुरुप राष्ट्रपति बसर अल असदको सरकारले आफुसंग रहेका रासायनिक हातहतियार राष्ट्रसंघको संयोजनमा नष्ट गर्न दिन सहमति जनाएको थियो।

एउटा अन्तरिम प्रतिवेदनमा राष्ट्रसंघीय अस्त्र निरीक्षकहरुले उक्त हमलामा सरिन भनिने एउटा विषालु ग्याँस प्रयोग गरिएको पुष्टि गरे।

संयुक्त राज्य अमेरिका तथा पश्चिमा मुलुकहरुले सो हमलाकालागि राष्ट्रपति बसर अल असदले नेतृत्व गरेको सरकार नै दोषी रहेको जनाएका थिए।

तर असद सरकारले ती आरोपहरुको खण्डन गर्दै ती हमलाकालागि विद्रोहीहरु नै दोषी रहेको दावी गरेको थियो।

भण्डार

सिरिया सरकारले रासायनिक हातहतियार भण्डार गरिएका १९ वटा केन्द्रहरुको विवरण राष्ट्र संघलाई दिएको छ।

तर ती मध्ये कुन केन्द्रबाट हतियार नष्ट गर्ने काम शुरु गरिएको छ भन्ने चाहिं बताइएको छैन।

सिरियामा गृह युद्ध जारी रहेकाले सबै रासायनिक हातहतियार नष्ट गर्न त्यति सजीलो नहुने जानकारहरु बताउँछन्।

द्वन्द्वको अवस्थामै रासायनिक हातहतियार नष्ट गर्न शुरु गरिएको यो पहिलो पटक हो।

सिरियाले रासायनिक अस्त्र नियन्त्रणसंबन्धी महासन्धिमा हस्ताक्षर गर्न पनि सहमति जनाएको छ।

सिरियासँग सरिन तथा सल्फर मस्टार्ड जस्ता प्रतिबन्धित रसायन सहित झण्डै एकहजार टन रासायनिक हातहतियार रहेको ठानिएको छ।