इस्लामवादी विद्रोहीविरुद्ध अमेरिकी कारबाही

  • 6 अक्टोबर 2013
al-libi
Image caption १९९८ मा अफ्रिकामा अमेरिकी दुतावासहरुमा भएका बम आक्रमणमा लिबि संलग्न भएको विश्वास गरिन्छ।

इस्लामवादी उग्रवादीहरुका उच्च नेताहरुलाई लक्षित गर्दै अफ्रिकामा अमेरिकी विशेष सैन्य फौजले दुई वटा छुट्टाछुट्टै कारबाही गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

उनीहरुले लिबियामा अल कायदाका एक जना उच्च नेता पक्राउ परेको र सोमालियामा उग्रवादीहरुको गढ मानिने क्षेत्रमा आक्रमण गरिएको जनाएका छन्।

पक्राउ

अमेरिकी अधिकारीहरुका अनुसार अनास अल लिबि भनेर चिनिने अलकायदाका नेता लिबियाली राजधानी ट्रिपोलीमा पक्राउ परेका छन्।

लिबिका भाइले विदेशी जस्ता देखिनेहरुले उनको अपहरण गरेको बताएका छन्।

डेढ दशकअघि अफ्रिकी मुलुकहरु केन्या र तान्जानियामा भएका बम आक्रमणमा संलग्न भएको भन्दै ४९ वर्षे लिबिको खोजी भइरहेको थियो।

अमेरिकी केन्द्रीय जांच ब्युरो एफबीआइको सबभन्दा खोजीको सूचीमा रहेका उनको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा भएको थियो।

उनी संलग्न ठानिएको ती आक्रमणमा २२० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।

विफल

Image caption अल शबाबका उग्रवादीहरुले पछिल्लोपटक आफ्ना आक्रमणहरु तीव्र पारेका छन्।

यसअघि अमेरिकी अधिकारीहरुले दक्षिणी सोमालियाको बन्दरगाहा शहर बरावेमा अमेरिकी नौसेनाको विशेष टुकडीले उग्रवादी समूह अल शबाबको गढ मानिने क्षेत्रमाथि हमला गरेको बताएका थिए।

अल शबाबका एक जना उच्च नेताले प्रयोग गरिरहेको ठानिएको घरमा हमला भएको बताइएको छ।

ती नेताको अवस्थाबारे भने प्रष्ट हुन सकेको छैन। तथापि उक्त अमेरिकी हमला विफल भएको जस्तो देखिएको बताइएको छ।

अमेरिकी दैनिक दी न्यूयोर्क टाइम्सले ती नेता मारिएको खबर छापेपनि दी एशोशिएटेड प्रेस र रोयटर्सले भने लक्षित योजना पूरा गर्न अमेरिकी सेना विफल भएको नाम उल्लेख गर्न नचाहने अधिकारीहरुलाई उद्यृत गर्दै लेखेका छन्।

अमेरिकी सेनाका ती पछिल्ला कदम केन्याली राजधानी नैरोबीको एक व्यापारिक केन्द्रमा करिब तीन साताअघि उग्रवादीहरुले गरेको हमलापछि आएको छ।