इजिप्टमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा ‘५० जना मारिए’

  • 7 अक्टोबर 2013
इजिप्टमा झडप
Image caption मोर्सी समर्थक र सेना समर्थकहरु तहरीर चोकनिर भेला हुन खोजेका थिए

इजिप्टका विभिन्न स्थानहरुमा प्रदर्शनकारी तथा सुरक्षा सैन्यबीच भएका झडपहरुमा कम्तिमा पचास जना मानिसहरु मारिएको अनि सयौं घाईते भएको विश्वास गरिएको छ।

सबै भन्दा बढि मानिसहरु मारिएको भनिएको राजधानी कायरोबाट २०० जना भन्दा बढि मुस्लिम ब्रदरहुडका सदस्यहरुलाई गिरफ्तार गरिएको छ।

इजिप्टको सेना समर्थित सरकारले सन् १९७३ को अरब ईजरेल युद्बको ४० औं बर्षगाँठ मनाईरहँदा मोर्सीका समर्थकहरुले विभिन्न शहरहरुमा र्‍याली निकालेका थिए।

‘तहरिर चोक’

कायरोको तहरिर चोकमा युद्बको वर्षगाँठ मनाउन भनी सयौं मानिसहरु भेला भएका थिए।

सैनिक शक्तिको भव्य प्रदर्शन गर्न भनी आकाशमा जेट तथा अपाचे हेलिकप्टरहरु पंक्तिबद्ब भई घुमिरहेका थिए।

त्यहाँ जम्मा भएको भींडले होहल्ला गरिरहेको थियो र केहीले रक्षा प्रमुख जेनरल अब्देल फतह अल सीसीका पोस्टरहरु पनि बोकेका थिए।

केही मानिसहरु उनी इजिप्टका आगामी राष्ट्रपति बनुन भन्ने चाहन्छन्।

तर जनरल सिसिलाई हत्याराको संज्ञा दिंदै हजारौंको संख्यामा मोर्सिका समर्थकहरु पनि तहरिर चोकमा जान कोशिस गरिरहेका थिए।

‘सडकमा झडप’

सुरक्षा सैन्यले उनीहरुलाई रोक्न अश्रुग्याँस प्रयोग गरे। केही ठाउँमा प्रदर्शनकारीहरु माथि गोली प्रहार भएको थियो भने जवाफमा उनीहरुले सेना र प्रहरीमाथि ढुंगा हानेका थिए।

सडकमा घण्टौं सम्म झडप चलिरह्यो। यी झडपहरुमा कम्तिमा पचास जनाको ज्यान गएको बताईएको छ भने थुप्रैको संख्यामा मानिसहरु घाईते भएका छन्।

मोर्सीका समर्थकहरु उनलाई गत जुलाईमा सैनिक कु गरि पदबाट हटाईएको भन्दै उनको पुनर्स्थापनाको माग गरिरहेका छन्।