इजिप्टमा श्रृंखलाबद्ध हमला

  • 7 अक्टोबर 2013
सैनिक गश्ती
Image caption साइनाइमा यसअघि पनि सुरक्षाकर्मीहरुमाथि हमला गरिएको थियो

इजिप्टमा रणनीतिक महत्वका निशानाहरुमा श्रृंखलाबद्ध हमलाहरु गरिएका छन्।

दक्षिणी साइनाइस्थित एउटा सुरक्षा मुख्यालयमा गरिएको कार बम हमलामा कम्तीमा दुईजनाको ज्यान गएको बताइएको छ।

चारतले भवनको केही भाग भत्किएको र कैयौं मानिसहरु भग्नावशेषमा चेपिएको हुनसक्ने आशँका गरिएको छ।

साइनाइलाई कतिपयले ‘नयाँ अफगानिस्तान’ पनि भन्ने गरेका छन्।

इजिप्टका सुरक्षा सैन्यले त्यहाँ उग्रवादीहरु विरुद्ध एउटा ठूलो कारवाही गरिरहेका छन्।

सुरक्षा विश्लेषकहरु त्यहाँको स्थिति पूर्णकालिक विद्रोहको जस्तो बन्दै गएको बताउँछन्।

हमला

एक छुट्टै घटनामा बन्दूकधारीहरुले स्वेज नहर रहेको इस्मालिया शहर बाहिर गश्ती गरिरहेको एउटा सैनिक मोटरमाथि हमला गरी ६ जना इजिप्सेली सैनिकहरुको ज्यान लिएको छन्।

उता राजधानी कायरोको बाहिरी भेगमा रहेको एउटा भूउपग्रह केन्द्रमा पनि रकेट हमला गरिएको थियो।

यसअघि इजिप्टका विभिन्न स्थानहरुमा प्रदर्शनकारी तथा सुरक्षा सैन्यबीच आइतबार भएका झडपहरुमा पचास जना भन्दा बढीको ज्यान जानुका साथै सैयौं घाईते भएका थिए।

तर इस्लामवादीहरुले सेना विरुद्धको प्रदर्शन जारी रहने बताएका छन्।

र्‍याली

इजिप्टको सेना समर्थित सरकारले सन् १९७३ मा भएको अरब इजरायल युद्धको ४० औं वर्षगाँठ मनाईरहँदा सत्ताच्युत गरिएका राष्ट्रपति मोर्सीका समर्थकहरुले विभिन्न शहरहरुमा र्‍याली निकालेका थिए।

कायरोको तहरिर चोकमा युद्धको वर्षगाँठ मनाउन भनी सयौं मानिसहरु भेला भएका थिए।

तर हजारौंको संख्यामा तहरिर चोकमा जान कोसिस गरिरहेका प्रदर्शनकारीहरुलाई रोक्न अश्रुग्याँस तथा गोली समेत प्रहार गरेका थिए।

जवाफमा उनीहरुले सेना र प्रहरीमाथि ढुंगा हानेका थिए।

एकजना प्रदर्शनकारी महिला मोना मोहमद महमुदले भनिन्, “म रद्दीको टोकरीमा फ्याँकिएको मेरो मतकालागि र देशमा वैध शासन लागू गरियोस् भनेर सडकमा आएकी हुँ।“

भूतपूर्व राष्ट्रपति मोर्सीका समर्थकहरुले गत जुलाई महिनामा उनलाई सेनाले सत्ताच्युत गरेको भन्दै उनको पुनर्स्थापनाको माग गरिरहेका छन्।