कर्जा सीमा नबढे आर्थिक मन्दी:ओबामा

  • 9 अक्टोबर 2013
shut down
Image caption अक्टोबर १ देखि अमेरिकी संघीय निकायहरु आंशिक रुपमा बन्द छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सरकारको कर्जा सीमा बढाउन संसदले अनुमति नदिए अमेरिकामा पुन: आर्थिक मन्दी शुरु हुन सक्ने चेतावनी दिएका छन्।

उक्त सीमा बढाउन नौ दिनमात्रै बांकी रहेका बेला ओबामाको त्यस्तो चेतावनी आएको छ।

रिपब्लिकनहरुले कर्जा सीमा बढाउन नदिने बताएका छन्।

'फिरौती'

रिपब्लिकनहरुसंग उनी वार्ता गर्न तयार रहेको तर त्यसअघि उनीहरुले मुलुकको वित्तिय क्षेत्रसंग सम्बन्धित चेतावनीहरु बन्द गर्नुपर्ने बताएका छन।

कर्जा सीमा बढाउन तथा बन्द सरकारी निकाय खुलाउनका लागि रिपब्लिकनहरुले छुट खोजेको भन्दै त्यसलाई उनले फिरौतीको संज्ञा दिए।

गत साता बजेटसम्बन्धमा सहमति जुट्न नसकेपछि त्यसयता अमेरिकामा सरकारी निकायहरु आंशिक रुपमा बन्द छन्।

गत साता नै लागू ओबामाकेयर भनिने नयां स्वास्थ्यसेवा व्यवस्थालाई लिएर डेमोक्रयाट र विपक्षी रिपब्लिकनबीच तनाव गहिरिएपछि त्यस्तो परिस्थिति उत्पन्न भएको हो।

राष्ट्रपति ओबामाले सरकारी निकाय बन्द गरिनुपरेको अवस्था उनकै शब्दमा जति लापरवाहपूर्ण छ त्यतिकै लापरवाहपूर्ण कर्जा सीमा नबढाउने विषय पनि हो।

उनले भने, "यदि कंग्रसले कर्जा सीमा बढाएन भने अमेरिकाले २२५ वर्षमा पहिलोपटक आफ्ना वित्तिय दायित्वहरु पूरा गर्न सक्नेछैन।"

गिरावट

रिपब्लिकनहरुले भने ओबामाकेयरमा केही सुधार वा केही ढिलाइ खोजिरहेका छन्।

रिपब्लिकनका नेता जोन बेनरले आफूहरु राष्ट्रपतिसंग वार्ता गर्न तयार रहेको बताए तर राष्ट्रपतिले उनकै शब्दमा वार्ता गर्न चाहिरहेका छैनन्।

रिपब्लिकनहरुले आत्मासमर्पण नगरेसम्म वार्ता नगर्ने मनस्थितिमा राष्ट्रपति रहेको आरोप समेत उनले लगाए।

ओबामाले भने यदि यो स्थिति लम्बियो भने अमेरिका फेरि आर्थिक मन्दीमा फस्ने चेतावनी दिए।

यसैबीच अमेरिकी वित्तिय अन्योलका माझ प्रमुख सट्टाबजार सूचकांकहरुमा एकप्रतिशत भन्दा बढीले गिरावट देखिन थालेको छ।