लिवियाका प्रधानमन्त्री अपहरणपछि मुक्त

  • 10 अक्टोबर 2013
लिबियामा प्रधानमन्त्री अली जेइदान
Image caption प्रधानमन्त्री जेइदानलाई कब्जामा लिइनुका पछाडिको कारण स्पष्ट भएको छैन

लिविया सरकारले प्रधानमन्त्री अली जेइदानलाई बन्दूकधारीहरुले कब्जामा लिएको केही घण्टापछि मुक्त गरिएको जनाएको छ।

एकजना सरकारी प्रवक्ताले लिवियाको टेलिभिजनलाई बताए अनुसार प्रधानमन्त्री जेइदानको स्वास्थ्य अवस्था ‌ठिक छ।

उनले प्रधानमन्त्रीको अपहरण र मुक्तिकाबारे थप विवरण पछि दिइने बताए।

अपहरण

प्रधानमन्त्री जेइदानलाई राजधान त्रिपोलीमा उनी बस्ने होटेलबाट सशस्त्र व्यक्तिहरुले अपहरण गरेका थिए।

देशको आन्तरिक मामिला मन्त्रालयसंग करारमा काम गर्ने एउटा मिलिसिया समूहले आफूले प्रधानमन्त्रीलाई पक्राउ पुर्जी सहित कब्जामा लिएको बताएको थियो।

तर सरकारले त्यस्तो पक्राउ पुर्जीको अस्तित्व नरहेको बताएको छ।

उक्त सशस्त्र समूहले आफूले उनलाई, उसकै भनाइमा, आर्थिक अनियमितताहरु लागि पक्राउ गरेको हो।

Image caption केही दिन अघि अमेरिकी सैनिकहरुले कमाण्डो कार्वाही गरेर एकजना अलकायदा सन्दिग्धलाई पक्रेका थिए

तर बीबीसीका सुरक्षा तथा कूटनीतिक सम्बाददाता जोनाथन मार्कस भन्छन्, प्रधानमन्त्री जेइदानको अपहरणका पछाडिको यकीन उद्देश्य स्पष्ट छैन।

आक्रोश

केहि दिन अघि लिवियामा अमेरिकी सैन्यले एकजना अलकायदा सन्दिग्धलाई पक्राउ गरेको घटनाप्रति केही वृत्तमा उत्पन्न आक्रोशसंग त्यसको सम्बन्ध हुन सक्ने अनुमान गरिएको छ।

उक्त घटनालाई मानिसहरुले लिवियाको सार्वभौमिकताको उल्लँघनका रुपमा लिएका छन् र सरकारलाई त्यसमा आफ्नो संलग्नता रहे नरहेको स्पष्ट पार्न दबाब बढिरहेको छ।

यो प्रकरणले देशमा जारी अव्यवस्था र अझै पनि प्रभावशाली रहेका विभिन्न सशस्त्र समूहको तर्फबाट हुनसक्ने खतरालाई उजागर गरिदिएको छ।