पाकिस्तानी तालिबान ‘वार्ता गर्न तयार’

  • 10 अक्टोबर 2013
sharif
Image caption प्रधानमन्त्री पद सम्हाले लगत्तै नवाज सरिफले तालिबानसंग शर्तरहित वार्ता गर्न सकिने बताएका थिए

पाकिस्तान तालिबानका एक जना नेताले पाकिस्तान सरकारसंग आफूहरु गम्भीर वार्ताका लागि तयार रहेको बताएका छन्।

बीबीसीसंगको विशेष अन्तर्वार्तामा तालिबान नेता हकीमुल्लाह मेहसुदले वार्ताका लागि आफूहरु तयार रहेपनि सरकारले भने कुनै पहल नगरेको बताएका हुन्।

यसबारे पाकिस्तानी सरकारको कुनै औपचारिक धारणा भने आइसकेको छैन।

शर्त

विरलै दिने अन्तर्वार्तामा हकीमुल्लाह मेहसुदले कुनै पनि खालको युद्धविरामअघि अमेरिकी ड्रोन हमलाहरु रोकिनुपर्ने बताए।

उनले अमेरिका र उसका मित्रहरुमाथिको हमला भने जारी राख्ने उल्लेख गरे।

उनले भने,"हामीले तिनीहरुमाथि आक्रमण गरेका छौ जो धोकेबाजको साथमा छन् र त्यो धोकेबाज अमेरिका हो। हामी त्यस्तो आक्रमण जारी राख्नेछौं। तर जहांसम्म मुस्लिमहरु र उनीहरुको सम्पत्तिमाथिको आक्रमणको प्रश्न छ, त्यसमा हाम्रो संलग्नता छैन।"

अस्वीकार

मेहशुद एक प्रभावशाली तालिबान नेता मानिन्छन्।

उनले आदिवासी क्षेत्रका ३० वटाभन्दा बढी विद्रोही समूह नियन्त्रण गर्ने ठानिएको छ।

मेहसुद सम्बन्धित रहेको तालिबान समूहले पछिल्ला केही वर्ष पाकिस्तानमा मात्रै हजारौं मानिसको ज्यान लिएको छ।

तर उनले सार्वजनिक स्थानहरुमा भएका आक्रमणमा आफ्नो संलग्नता भने अस्वीकार गरे।

वार्ता टोली

बीबीसीका अहमल वाली मुजिबसंग यो महिना एउटा नखुलाइएको स्थानमा भएको अन्तर्वार्तामा उनले सरकारले औपचारिक वार्ता टोली गठन गरेर संवादमा बसिसकेपछि मात्रै आफ्ना शर्तहरु राख्ने बताए।

पाकिस्तानी सरकारले भने त्यसबारे हालसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।

गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएपछि नवाज सरिफले तालिबानसंग शर्तरहित वार्ता गर्न तयार रहेको बताएका थिए।