सिरियामा रेडक्रसका सात कर्मचारी अपहरीत

  • 14 अक्टोबर 2013
रेडक्रसका कर्मचारी
Image caption संकटग्रस्त सिरियामा रेडक्रसका कर्मचारिहरु सहायता कार्यमा सक्रिय छन्

रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले सिरियामा कार्यरत आफ्नो एक टोली बन्दुकधारीहरुको अपहरणमा परेको पुष्टी गरेको छ।

आईसीआरसीकी एक प्रवक्ताका अनुसार रेडक्रसका छ जना कर्मचारी तथा सिरियाली अरब रेड क्रिसेन्टका एक जना स्थानीय स्वयंसेवकलाई बन्दुकधारीहरुले अपहरण गरेका छन्।

स्थानीय तथा अन्तर्राष्ट्रिय रेडक्रसका छ जना कर्मचारी तथा सिरियाली अरब रेड क्रिसेन्टका एक स्थानीय स्वयंसेवक सवार गाडीलाई अज्ञात बन्दुकधारीहरुले इडलीव प्रान्तको साराक्वेब भन्ने ठाउँ नजिकै रोकेको आईसीआरसीकी एक जना प्रवक्ता रिमा कमलले बीबीसीलाई बताइन्।

‘सम्पर्क विच्छेद’

"हाम्रा कर्मचारीहरु दमास्कस फर्किरहेका थिए, त्यसपछी हाम्रो उनीहरुसंग सम्पर्क टुट्यो, केहिबेरपछि उनीहरुलाई अज्ञात बन्दुकधारीहरुले अपहरण गरेको जानकारी हामीले पायौं।"

अपहरणमा परेका रेडक्रस कर्मचारीहरुको परिचय, लिंग तथा राष्ट्रियता खुलाउन आईसीआरसीले अस्वीकार गरेको छ।

तर उनीहरु मध्ये केही अन्तर्राष्ट्रिय अनि केही स्थानीय रेडक्रसका कर्मचारीहरु रहेको र विशेषगरि चिकित्सकहरु रहेको विश्वास गरिएको छ।

उनीहरु सवार गाडीहरु पनि हराईरहेको आईसिआरसीले जनाएको छ।

सिरियामैं राजधानी दमास्कसको मध्य भागमा दुईटा कार बम बिस्फोट भएका छन्।

सरकारी समाचार संस्था सनाका अनुसार आत्मघाती हमलाकारी सवार दुई वटा कार सिरियाको राष्ट्रिय प्रसारण संस्थानको मुख्यालय छेवैमा बिस्फोट गराईएका थिए, जसबाट सामान्य क्षति भएको छ।