डुंगा पल्टँदा २७ को मृत्यु

  • 12 अक्टोबर 2013
lampedusa
Image caption गत साता लाम्पेडुसामा भएको डुंगा दुर्घटनामा तीन सय जनाभन्दा बढी अफ्रिकी आप्रवासी डुबेका थिए।

युरोप र अफ्रिकालाई जोड्ने समुद्री क्षेत्रमा एउटा खचाखच डुंगा पल्टँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

दुई सय जनाभन्दा बढी आप्रवासी चढेको डुंगा मेडिटेरानियन समुन्द्रमा पल्टँदा कम्तीमा २७ जनाको ज्यान गएको छ।

अफ्रिकी आप्रवासीहरु चढेको डुंगा इटलीको लाम्पेडुसा टापुमा डुबेको एक सातापछि युरोप र अफ्रिकालाई जोड्ने अर्को समुन्द्री क्षेत्रमा यस्तो दुर्घटना भएको छ।

उद्धार

युरोपेली मुलुक माल्टाका प्रधानमन्त्री जोजेफ मुस्काटका अनुसार अहिलेसम्म डुंगामा सवार २०३ जनाको उद्धार गरिसकिएको छ।

गत साता डुंगा पल्टँदा तीन सय जनाभन्दा बढी अफ्रिकी आप्रवासी डुबेको स्थान लाम्पेडुसाबाट पछिल्लो दुर्घटनास्थल १२० किलोमिटरको दूरीमा छ।

दुर्घटनास्थलमा माल्टा र इटलीका जहाजहरु उद्धारका लागि खटिएको बताइएको छ।

सूर्यास्त हुनुअघि उक्त डुंगामा समस्या देखिएको विश्वास गरिएको छ।

उक्त डुंगा दुर्घटना भएको पहिलोपटक माल्टाका वायु सेनाका अधिकारीहरुले देखेका थिए।

त्यसपछि उनीहरुले इटलीका तटरक्षकहरुलाई खबर गरिदिएका थिए।

सो डुंगामा रहेका आप्रवासीहरु कुन मुलुकका हुन् भन्नेबारे अहिलेसम्म प्रष्ट हुन सकेको छैन।

परिवर्तन

उक्त दुर्घटनापछि माल्टाका प्रधानमन्त्री मु्स्काटले आप्रवासीहरुसम्बन्धित कानूनहरुमा परिवर्तन जरुरी रहेको तथा सुरक्षाका लागि थप कदमहरु चालिनुपर्ने बताए।

उनले भने,"जबसम्म हामीले नियमहरुमा परिवर्तन गर्दैनौं, जबसम्म केही ठोस कदम चाल्दैनौं, थप मानिसहरुको ज्यान गइरहनेछ।"

उनले मेडिटेरानियन क्षेत्रलाई आफूहरुले उनकै शब्दमा चिहान बन्न दिन नसक्ने टिप्पणी समेत गरे।