चन्दा मागले व्यवसायी 'हैरान'

  • 16 अक्टोबर 2013
Image caption मंसिर चारको चुनावको मिति नजिकिदै जाँदा दलहरुबाट चन्दा माग्ने क्रम तीव्र बनेको गुनासो व्यवसायीको छ

व्यवसायीहरुले चुनावको मिति नजिकिदै जाँदा राजनीतिक दलहरुबाट चन्दा माग्ने क्रम तीव्र बनेको गुनासो गरेका छन्।

अघिल्लो संविधानसभाको चुनावभन्दा यसपटक राजनीतिक दलहरुको संख्या ह्वात्तै बढेकाले धेरैलाई चन्दा दिन आफूहरु बाध्य भएको उनीहरुले बताएका छन्।

यसरी चन्दा माग्नेमा चुनावमा भाग लिनेमात्रै नभइ सहभागी नहुने घोषणा गरेका दल तथा समूह समेत रहेको बताइएको छ।

थेग्नै गाह्रो

चुनावको मिति जति नजिकियो उति नै चन्दा माग्नेहरुको ओइरो थेग्नै नसक्ने गरी बढेको व्यवसायीहरु बताउँछन्।

त्यसबाट उम्कन कति विदेशतिर घुम्न गएका र कतिले त मोबाइल नम्बर नै निरन्तर परिवर्तन गरिरहेको बताइन्छ।

जति ठूलो दल उति नै धेरै चन्दा माग हुने गरेको राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकारले बताए।

उनले भने, “निर्वाचनमा भाग लिने र नलिने घोषणा गरेका दलहरुले पनि चन्दा मागेका छन्। जति ठूलो दल त्यतिनै ठूलो चन्दा मागिएको छ।”

मोलमोलाइ

तर चन्दा नदिने घोषणा गरेका व्यवसायी स्वयम् नै, चन्दा नदिंदा राजनीतिक शक्तिहरु भविष्यमा आफू प्रतिकूल भइदिन्छन् कि भन्ने मनोविज्ञान रहेको अनौपचारिक कुराकानीमा स्वीकार्ने गर्छन्।

यस्तै विविध कारणले प्रहरीमा उजुरी गर्नुको साटो मोलमोलाइ गरेर केही रकम दिई व्यवसायीहरुले आपसमै समस्या सुल्झाउने गरेको मालाकार स्वीकार्छन्।

उनले भने,“कसैले पांच लाख मागेको छ भने ५० हजारमा सल्टाएको अवस्था छ भने कसैले १० हजारमै।”

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक नवराज सिलवाल जबरजस्ती चन्दा उठाउने काम निर्वाचन आचारसंहिता विपरीत भएकाले त्यसो गर्नेलाई कारवाही हुने बताउँछन्।

तर व्यवसायीहरु चुपचाप बसेकाले त्यसो हुन नसकेको उनको भनाइ छ।

उनले भने, “दलहरुले जबरजस्ती चन्दा माग गरे भनेर प्रहरीमा अहिलेसम्म उजुरी परेको जानकारीमा आएको छैन।”

स्वेच्छिक

तर दलहरुले भने चन्दाको लागि जबर्जस्ती नगरिएको र व्यवसायीहरुले स्वेच्छाले सहयोग गर्ने गरेको बताउने गरेका छन्।

ती दलमध्येको एक, एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले व्यापारीहरुलाई करकाप गर्ने उनको दलको नीति नभएको बताए।

उनले भने, "स्वेच्छाले दिन चाहनेलाई हामीले बैंकको खाता नम्बर दिएका छौं।"

दलका नेता र व्यवसायीहरुका यस्ता आआफ्नै तर्कका माझ कतिपय भने नियम छल्ने व्यवसायी र नेताहरुलाई चन्दाको मोलमोलाइले एकअर्काका खराब काम ढाकछोप गर्ने अवसर जुटाइदिएको ठान्छन्।