रूसी विपक्षी नेता ‘दोषी’ तर मुक्त

  • 16 अक्टोबर 2013
Image caption नाभाल्नीले आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेका छन्

रूसको एउटा अदालतले एक विपक्षी नेतालाई सार्वजनिक कोष हिनामिनाको मुद्धामा दोषी पाएपनि उनलाई मुक्त गरिदिएको छ।

अलेक्सेइ नाभाल्नीलाई गत जुलाई महिनामा पाँच वर्षको कारागार सजाय सुनाइएको थियो।

उनलाई त्यस लगत्तै जेल पठाइएपनि उनी पुनरावेदन अदालत गएकाले अस्थायी रूपमा रिहा गरिएका थिए।

उनी अहिले पुरै मुक्त गरिएपनि दोषी ठहरिएकाले उनले आगामी राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न पाउने छैनन्।

नाभाल्नीले आफूमाथि लगाइएका सबै आरोपको खण्डन गरेका छन्।

ती आरोपहरू उनी किरोभ क्षेत्रका राज्यपालका सल्लाहकार हुँदाखेरीका हुन्।

'पूर्वाग्रह'

उनले अधिकारीहरूले राजनीतिक पूर्वाग्रह राखेर आफूमाथि अदालती कारवाही चलाएका बताएका छन्।

उनले अदालतले आफूलाई दोषी ठह-याएको फैसला विरूद्ध अपील गर्ने बताएका छन्।

यसअघि जमानतमा रिहा हुँदा उनी मस्कोको मेयर पदकालागि उम्मेदवार बनेका थिए र चुनावको नतिजामा दोस्रो आएका थिए।

उनी रूसमा भ्रष्टाचार विरूद्धको अभियानमा लाग्दै आएका छन्।

अदालतमा आफू विरूद्धको मुद्धामा सुनुवाइ हुँदा उनी मोबाइल फोन प्रयोग गरेर तस्वीर लिइरहेका देखिन्थे।

उक्त मोबाइलमा एउटा स्टिकर टाँसिएको थियो जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटीनलाई चोर भनी व्यङ्ग्य गरिएको थियो।

क्रेमलीनले उनलाई दोषी ठह-याउन अदालत तथा न्यायाधीशहरूमाथि दबाब दिएको आरोपको खण्डन गरेको छ।