अमेरिकी कर्जा गतिरोध अन्त्य

  • 17 अक्टोबर 2013
obama
Image caption अर्को पटक सहमतिका लागि अन्तिम घडी कुर्नु नपर्ने अपेक्षा राष्ट्रपति ओबामाले गरेका छन्

अमेरिकामा दुई साताभन्दा बढी समययता जारी अन्योल अन्त्य गर्दै संसदको दुवै सदनले कर्जा सीमा बढाउने तथा आंशिक रुपमा बन्द रहेका सरकारी निकाय खुलाउने द्धिदलीय सहमति अनुमोदन गरेका छन्।

सहमति पारित भएपछि राष्ट्रपति बाराक ओबामाले अमेरिकी अर्थतन्त्र र सर्वसाधारणमा रहेको अनिश्चयको अवस्था अन्त्य भएको टिप्पणी गरेका छन्।

‘अन्योल अन्त्य’

डेमोक्रयाट नियन्त्रित माथिल्लो सदन सिनेटले पारित गरेलगत्तै उक्त सहमति रिपब्लिकन नियन्त्रित तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटीभ्सले पनि अनुमोदन गरेको थियो।

सिनेटबाट सहमति पारित भएलगत्तै पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति ओबामाले आफूले त्यसमा तुरुन्तै हस्ताक्षर गर्ने र आंशिक बन्द सरकारी निकाय खुल्न शुरु हुने बताए।

विपक्षी रिपब्लिकनहरुलाई धन्यवाद दिदैं उनले भने, “सहमतिले अमेरिकी जनता र अर्थतन्त्रमाथि मडारिएको अन्योलको बादल हटाएको छ ।”

उक्त सहमति पारित नभएको भए बिहीवारबाट अमेरिकी सरकार आफ्नो खर्च तिर्न असमर्थ हुने थियो।

त्यस्तो अवस्था टार्न अन्तिम घडीमा आएर डेमोक्रयाट र रिपब्लिकन सदस्यहरुले तयार पारेको उक्त द्धिदलीय प्रस्तावले आगामी जनवरी १५ सम्म खर्च गर्न सरकारलाई बाटो खोलिदिएको छ।

साथै कर्जा लिने समयसीमा बिहीबारबाट बढाएर आउंदो फेब्रुअरी ७ सम्म पुर्याइएको छ।

अन्तिम घडी

मंगलवार पुन: विवाद भएपछि तल्लो सदनमा राखिएको मतदानको कार्यक्रम अन्तिम समयमा आएर सारिएको थियो।

त्यसपछि नयां सहमतिको जिम्मा सिनेटको कांधमा आएको थियो।

स्वास्थ्यसेवासम्बन्धी नयां व्यवस्था ओबामाकेयरलाई लिएर डेमोक्रयाट र रिपब्लिकनहरुबीच विवाद गहिरिएपछि बजेट पारित हुन सकेको थिएन जसका कारण गत अक्टोबर १ यता सरकारी निकायहरु आंशिक रुपमा बन्द थिए।

रिपब्लिकनहरुले ओबामाकेयरमा संशोधन वा ढिलाइ चाहेका थिए।

पछिल्लो सहमति अन्तिम घडीमा आएर कसरी भयो भन्ने प्रष्ट भइनसकेपनि रिपब्लिकनहरुका केही माग सम्बोधन भएको ठानिएको छ।