केन्या आक्रमणमा संलग्न नर्वेलीको पहिचान

  • 18 अक्टोबर 2013
Image caption गत महिना भएको वेस्टगेट हमलामा कम्तीमा ६७ जनाको ज्यान गएको थियो।

गत महिना केन्याको राजधानी नैरोबीको वेस्टगेट शपिङ सेन्टरमा भएको आक्रमणमा संलग्न हमलाकारी मध्येका एक २३ वर्षिय नर्वेली नागरिक भएको बताइएको छ।

सो शपिङ सेन्टरको सीसीटिभीमा देखिएका चार जना बन्दुकधारीमध्येका एक, हसन आब्दी डुहुलो भएको अनुसन्धानकर्ताहरुको विश्वास छ।

शरणार्थी

सीसीटिभीमा देखिएकाहरुको पहिचान गर्न अनुसन्धानकर्ताहरु लागि परिरहेका छन्।

२३ वर्षिय नर्वेली नागरिक हसन आब्दी डुहुलो सोमालियामा जन्मेका थिए तर नौ वर्षको उमेरमै शरणार्थीको रुपमा सन् १९९९ मा परिवारका साथ नर्वे पुगेका थिए।

चार वर्ष अघि नर्वेबाट उनी पुन: सोमालियाको राजधानी मोगादिसु नै फर्किएका थिए।

बीबीसीले सीसीटिभीको भिडियो देखाउँदा नर्वेमा रहेका डुहुलोका एक छिमेकीले भने, "उ त अतिवादी जस्तै थियो। जुन बेला पनि कुरानको कुरा गर्थ्यो।"

उनी संलग्न भनिएको वेस्टगेट शपिङ सेन्टर आक्रमणमा कम्तीमा ६७ जना मारिएका थिए।

गत सेप्टम्बर २१ मा चार दिन सम्म लम्बिएको उक्त आक्रमणमा अल कायदासँग सम्बन्ध रहेको इस्लामिक उग्रवादी समूह अल शबाबको हात रहेको बताइएको छ।

जाँचबुझ

Image caption वेस्टगेट आक्रमणमा सोमलियाको इस्लामिक उग्रवादी समूह अल-शबाबले आफ्नो संलग्नता भएको बताएको छ।

नर्वेली गुप्तचर निकाय पिएसटीले उक्त आक्रमणमा संलग्न व्यक्ति नर्वेली नागरिक हुन कि होइनन् भनेर जाँचवुझ गर्न गत हप्ता नैरोबीमा केही अधिकारीहरु पठाएको बताएको छ।

उक्त आक्रमणमा कति जना बन्दुकधारी थिए भन्ने अझै स्पष्ट भइसकेको छैन।

शपिङ सेन्टरभित्र १० देखी १५ जना सम्म आक्रमणकारी हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो।

तर केन्याली अधिकारीहरुले सार्वजनिक गरेको सीसीटिभीका दृष्यहरुमा चार जना मात्रै रहेको देखाइएको छ।

हसन अब्दी डुहुलो ती चार जना मध्ये एकजना रहेको विश्वास गरिएको छ।