रोमा छात्रा फ्रान्स आउन सक्छिन्: राष्ट्रपति ओलाण्ड

  • 19 अक्टोबर 2013
फ्रान्समा विरोध प्रदर्शन
Image caption रोमा किशोरीलाई जबर्जस्ती कोसोभो पठाइएपछि फ्रान्समा विद्यार्थीहरुले देशव्यापी विरोध गरेका थिए

फ्रान्समा, एकजना रोमा समुदायकी स्कुले छात्रालाई जबर्जस्ती उनको देश कोसोभो फिर्ता पठाइएको विरोधमा फ्रान्सेली विद्यार्थीहरुले राष्ट्रव्यापी प्रदर्शन गरेपछि, राष्ट्रपतिले हस्तक्षेप गरेका छन्।

राष्ट्रपति फ्रांस्वा ओलाण्डले यदि ति छात्राले आफ्नो पढाइलाई निरन्तरता दिन फ्रान्स आउन चाहेमा उनलाई अनुमति दिइने बताएका छन्।

तर ति १५ बर्षिया किशोरीले आफू परिवारलाई छाडेर एक्लै फ्रान्स नफर्कने पत्रकारहरुलाई बताएकी छिन्।

रोमा समुदायकी ति किशोरी लेओनार्दा डिब्रानालाई, यसै महिना केहि अघि आफ्ना सहपाठीहरुसंग शैक्षिक भ्रमणमा रहेका बेला पक्रेर ‌अभिभावक र पांच जना दाजुभाई दिदी बहिनीका साथ उनको पिताको देश कोशोभो फिर्ता पठाइएको थियो।

आक्रोश

यो घटनाले फ्रान्समा तिब्र आक्रोश सिर्जना गरिदिएको थियो र हजारौं विद्यार्थीहरुले प्यारिसमा दुई दिनसम्म प्रदर्शन गरेका थिए।

एउटा सरकारी छानविनले यो प्रकरणमा अधिकारीहरुले कानूनसम्मत कार्य नै गरेको ठहर गरेको थियो।

राष्ट्रपतिलाई हस्तान्तरण गरिएको अनुसन्धान प्रतिवेदनमा ति विद्यार्थीको परिवारलाई देश छाड्न बारम्बार दिइएको आदेशलाई बेवास्ता गरिएपछि प्रहरी र स्थानीय अधिकारीहरु कदम चाल्न वाध्य भएका बताइएको छ।

तर उल्लेख्य कुरा चाहिं अब भविष्यमा विद्यालय समयमा कसैलाई पनि हिरासतमा नलिन सिफारिस पनि गरिएको छ।

यहि विषयले नै हजारौं विद्यार्थीहरु र वामपन्थी समर्थकहरुलाई देशव्यापी रुपमा आक्रोशित तुल्याएको छ।

Image caption लेओनार्दाले आफू एक्लै मात्र फ्रान्स नफर्कने बताएकी छिन्।

तिनीहरु कानून भन्दा पनि जुन कच्चा ढंगले कानूनको पालना गरियो त्यसप्रति असन्तुष्ट देखिन्छन्।

कोसोभो

लेओनार्दा डेब्रानीलाई आफ्ना सहपाठीहरुसंग शैक्षिक भ्रमणमा रहेका बेला उनको सहपाठीहरुकै अगाडी बसबाट पक्राउ गरेर रुवाउंदै त्यसै दिन कोसोभो पठाइएको थियो।

यो घटनाले सोसलिस्ट पार्टी भित्रै पनि तितो मतभेद सिर्जना गरिदिएको छ भने केहिले त आन्तरिक मामिला मन्त्रीलाई पार्टीको निष्पक्ष र स्वतन्त्र शिक्षाको अवसर सम्बन्धी मान्यतालाई नै धोका दिएको आरोप लगाएका छन्।

दक्षिणपन्थी विपक्षले भने सरकारलाई चेतावनी दिंदै विरोध प्रदर्शनहरुबाट डराएर फिर्ता पठाइसकिएको परिवारलाई फेरि फ्रान्स आउन दिंदा त्यसबाट गलत नजीर बस्ने भनी सावधान गराएको छ।

प्यारिसस्थित बीबीसीका सम्वाददाता क्रिस्टीयन फ्रेजरको भनाईमा लेओनार्दालाई ,यदि उनले आफ्नो बसोबासको ब्यवस्था मिलाउन सकेमा, आफ्नो पढाइ पूरा गर्न फ्रान्स फर्कन दिने आमन्त्रण, राष्ट्रपति ओलाण्डले आफू सामु उपलब्ध राजनीतिक क्षति कम गर्ने शायद एउटा उत्तम उपायका रुपमा लिएका हुनसक्छ।