अपहरित लेबनानीहरु मुक्तिपछि स्वदेश फर्किए

  • 20 अक्टोबर 2013
turkish
Image caption नौ जना लेबनानीको मुक्तिको बदलामा लेबनानमा बन्दी बनाइएका यी दुई जना टर्किस पाइलटलाई पनि मुक्त गरिएको छ

अघिल्लो वर्षको मे महिनामा सिरियामा बन्दी बनाइएका लेबनानका नौ जना शिया तीर्थालुहरु मुक्त गरिएको एक दिन पछि बेरुत फर्किएका छन्।

लेबनानी तीर्थालुहरुको सो समूहलाई बेरुत पुग्दा उनीहरुका आफन्तहरु अनि लेबनानका राजनीतिक नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए।

विमानस्थलमा हर्ष र खुसियाली देखिन्थ्यो।

भावुक

बेरुतको राफिक हरिरि अन्तर्राष्ट्रिय विमानस्थलबाट बीबीसी अरेबिककी दिमा हमदानले उनीहरुको स्वागतका बेला त्यहाँ देखिएको स्थितिबारे भनिन्,“आज यहाँ आइपुगेका यी नौजना लेबनानी नागरिकहरु थकित देखिन्छन् तर १७ महिना अघि उनीहरुको अपहरण गरेका सिरियाली विपक्षीहरुले राम्रो व्यवहार गरेको उनीहरुले बताएका छन्।”

विमानस्थलमा हर्षको माहौल थियो भन्दै उनले भनिन् “यहाँको दृश्य हर्ष र खुसियाली पूर्ण थियो र असाध्यै भावुक खालको थियो। लामो समयदेखि यस क्षणको पर्खाइमा रहेका उनीहरुका परिवारका सदस्यहरु उनीहरुलाई अंगालो हाल्दै रुँदै थिए, कोही कोही त यति भावुक भए कि उनीहरु भुईंमै लडे।”

सम्झौता

१७ महिना अघि अपहरणमा परेका ती लेबनानी नागरिकहरुलाई एक जटिल समझौता अन्तर्गत मुक्त गरिएको हो।

उनीहरुको अपहरणको बदला स्वरुप गत अगस्टमा टर्किस एयरलायन्सका दुई जना पाइलटलाई लेबनानमा बन्दी बनाइएको थियो।

ती नौजना शिया तीर्थयात्रीहरुलाई मुक्त गरिएपछि सो सम्झौता अन्तर्गत टर्कीका ती दुई पाइलटलाई पनि छाडिएको छ। उनीहरु शनिबार साँझ कतारी जेट विमानबाट इस्तानबुल पुगेका छन्।

यो जटिल सम्झौताको तेस्रो पाटो सिरियाली सरकारद्बारा बन्दी बनाइएका केही महिला बन्दीहरुको रिहाइ हो ।

तर उनीहरुलाई मुक्त गरिए वा नगरिएको स्पष्ट छैन ।