चुनाव प्रचार-प्रसारमा तिब्रतासंगै सुरक्षा चिन्ता

  • 22 अक्टोबर 2013
निर्वाचन आयोग
Image caption चुनावका बेला दलहरुले लोकतान्त्रिक आचरण प्रस्तुत गर्नु पर्नेमा अधिकारीहरुले जोड दिएका छन्

मंसीर ४ गतेका लागि तय दोस्रो संविधानसभाको चुनाव प्रचार-प्रसारको क्रममा दलहरु चुनावी मैदानमा होमिसकेका छन्।

तर असन्तुष्ट नेकपा माओवादी र अन्य दलको सक्रिय बहिस्कारको नाराका माझ चुनावी मैदानमा उम्मेदवार तथा कार्यकर्तामाथि विभिन्न पक्षबाट कुटपिट र आक्रमण भएका खबर रोकिएका छैनन्।

यसबाट चुनाव शान्तिपूर्ण बनाउने चुनौती सरकार र दलहरु सामु रहेको स्पष्ट देखिन्छ।

निर्वाचन आयोगले भने चुनावलाई प्रभावित गर्ने यस्ता गतिविध तत्काल रोक्न आग्रह गरेको छ।

संकेत

दलहरु चुनावको मैदानमा होमिसकेको भएपनि छिटपुट रुपमा स्थानिय स्तरमा हुने भिडन्तका खवरहरुले सुरक्षाको चिन्ता कायमै रहेको देखिएको छ।

स्थानिय स्तरमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र अन्य दल सम्वध्द व्यक्तीले निर्वाचन सामाग्री खोस्ने र उम्मेदवार लखेट्ने गरेको खवरहरु आएपछि यस्ता चिन्ताहरु व्यक्त भएका हुन्।

निर्वाचन आयोगले यस्ता गतिविध तत्काल रोकेर सहजतापुर्वक मतदातालाई भोट हाल्न दिने वातावरण बनाउन आग्रह गरेको छ।

बीबीसी नेपाली सेवासंग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दलहरुले लोकतान्त्रिक आचरण प्रस्तुत गर्नु पर्नेमा जोड दिए।

"मतदान नगर्ने भए अरुलाई सहज तरिकाले मत खसाल्न दिनु पर्छ।”

चिन्ता

खासगरी बाराका एकजना उम्मेदवार महमुद आलममाथि गोली प्रहार भएपछि अन्य उम्मेदवार र मतदातामा सुरक्षा चिन्ता ह्वात्तै बढेको थियो।

चुनावमै उत्रिएका दलहरुबीच पनि प्रचार-प्रसारको क्रममा मुठभेड भएका खबरहरु आइरहेका हुनाले मतदातामा सुरक्षा चिन्ता अझ थपिएको बताइन्छ।

त्यसलाई सम्बोधन गर्न सरकारले विशेष सतर्कता अपनाएको बताएको छ।

सुरक्षालाई नै मध्य नजर गर्दै सेना, प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरीएका छन्।

तर भयरहित निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायहरु परिचालन गरीए पनि दलहरुले नै संयमता नअपनाए सरकारको सुरक्षा योजना प्रभावकारी हुन नसक्ने विश्लेषकहरुको धारणा छ।