आफ्नो संवाददाता रिहा गर्न चिनियाँ अखबारको अपील

  • 23 अक्टोबर 2013
चिनियाँ अखबारहरु
Image caption चीनमा सन्चारमाध्यमहरुमाथि राज्यको कडा नियन्त्रण रहने गरेको छ।

एउटा चिनियाँ समाचारपत्रले विरलै चालिने एउटा कदममा आफ्नो मुखपृष्ठमा एउटा अपील प्रकाशित गरी आफ्नो एकजना संवाददातालाई रिहा गर्न चिनियाँ अधिकारीहरुलाई आग्रह गरेको छ।

एउटा ठूलो निर्माण सामग्री उत्पादन गर्ने कम्पनीको बेइज्जत गरेको आशँकामा चेन योङ झुलाई गत साता पक्राउ गरिएको थियो।

आफ्ना श्रृङखलावद्ध रिपोर्टहरुमा उनले आँशिक सरकारी स्वामित्व रहेको उक्त कम्पनीमा वित्तीय अनियमितताहरु गरिएको आरोप लगाएका थिए।

उक्त कम्पनीले ती आरोपहरुको खण्डन गर्दै प्रहरीमा उजुरी दिएको थियो।

प्रेस स्वतन्त्रता

प्रेस स्वतन्त्रताका पक्षमा गरिएको उक्त अभूतपूर्व आह्वानमा न्यू एक्सप्रेस समाचारपत्रमा ‘कृपया उनलाई रिहा गर्नोस्’ भनि चिनियाँ लिपिमा लेखिएका तीनवटा अक्षरहरुले अघिल्लो पृष्ठको झण्डै एकतिहाइ स्थान ओगटेका थिए।

ग्वाङझुबाट प्रकाशित हुने उक्त समाचारपत्रले हुनानमा रहेको सो कारखानाका बारेमा प्रकाशित समाचारहरुकै कारण आफ्ना संवाददातालाई प्रकाउ गरिएको जनाएको छ।

प्रहरीले पनि व्यापारिक प्रतिष्ठामा आँच पुराएका कारण चेन योङ झुलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।

यसै बर्षको शुरुमा चेनले हुनान प्रान्तिय सरकारको आँशिक स्वामित्व रहेको जुमलियोन कम्पनीबारे थुप्रै रिपोर्टहरु प्रकाशित गरेका थिए।

न्यू एक्सप्रेसमा प्रकाशित एउटा समाचारमा सो कम्पनीले उसको बिक्रीको विवरण अनियमित किसिमले दिएको बताइएपछि सो कम्पनीको शेयर मूल्यमा गिरावट आएको थियो।

गत मे महिनाको अन्त्यतिर हङकङ धितोपत्र बजारमा प्रकाशित एउटा वक्तव्यमा सो कम्पनीले ती आरोपहरु झुठ्ठा, आधारहीन तथा भ्रम फैल्याउने खालको भएको जनाएको थियो।

अपील

मुखपृष्ठमा प्रकाशित आफ्नो अपीलमा न्यू एक्सप्रेस समाचारपत्रले चेनप्रति दुर्व्यवहार गरिनसक्ने आशँकामा आफुहरु अहिलेसम्म चुप लागेको जनाएको छ।

उसले चेनलाई तीन दिन, तीन रात थुनामा बिताएपछि मात्रै एकजना वकीलसंग भेटन दिइएको बताएको छ।

शाङ्घाइस्थित बीबीसीका संवाददाता जोन सडवर्थ भन्छन्, चीनका अन्य अखबारजस्तै न्यू एक्सप्रेस पनि राज्यको कडा नियन्त्रणमा प्रकाशित हुने गर्दछ, तापनि खोजी पत्रकारिताकालागि यसले नाम कमाएको छ।

"हामी एउटा सानो अखबार हौं, तर हामी जति गरीब भएपनि हाम्रो मेरुदण्ड छ," उक्त अखबारले आफ्नो अपीलमा भनेको छ।

चिनियाँ सामाजिक सन्जाल वेबोमा पत्रकार चेनलाई पक्राउ गरिएको प्रति कडा प्रतिकृयाहरु जनाइएका छन्। झण्डै तीसजना वकीलहरुले चेनलाई समर्थन गर्दै एउटा पर्यवेक्षण समूह गठन गरेका छन्, तर उनीहरुले के काम गर्नेछन् भन्ने सपष्ट भैसकेको छैन।

राष्ट्रपति सि जिनपिङले प्रेस तथा इन्टरनेट स्वतन्त्रताप्रति कडा रवैया अपनाउँदै गर्दा पत्रकार चेनलाई पक्राउ गरिएको हो।

चीनमा अहिले झण्डै अढाइ लाख पत्रकार तथा संवाददाताहरुले काम गर्दा गर्दै लिइने अनिवार्य प्रशिक्षण लिइरहेका छन्।

तर आलोचकहरु यसको उद्देश्य पत्रकारहरुले सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको धारणा पछ्याउन् भन्ने रहेको बताउँछन्।