चुनावी प्रचारसँगै विरोधी गतिविधि बढ्दै

  • 25 अक्टोबर 2013
नेकपा-माओवादीका नेता
Image caption चुनावमा सेना परिचालन गरेर सरकार र सरकारपक्षीय दलहरु दमनमा उत्रिएको नेकपा-माओवादीको आरोप छ

संविधानसभाको चुनाव नजिकिन थालेपछि नेकपा-माओवादीले त्यस विरुद्धका कृयाकलाप तीव्र बनाउन थालेको छ।

पूर्वी नेपालको ताप्लेजुङमा गरिएको सांघातिक हमलामा एकीकृत नेकपा माओवादीका एकजना उम्मेदवार घाइते भएका छन्।

चुनाव बहिष्कारको घोषणा गरेको नेकपा-माओवादीले विभिन्न दलका चुनावी प्रचार टोलीमाथि एक, दुई दिनदेखि अवरोध र आक्रमण गरेका खबरहरु आइरहेका थिए।

अवरोध

एकीकृत माओवादीले ताप्लेजुङको एउटा गाउँमा सुतिरहेका बेला आफ्ना उम्मेदवारमाथि बिहीबार बिहान सवेरै नेकपा-माओवादी कार्यकर्ताले आक्रमण गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ।

नेकपा-माओवादीका सचिव देव गुरुङले घटनाको जिम्मेवारी लिएनन् तर त्यसलाई अस्वाभाविक ठानेनन्।

उनले भने, "निर्वाचनको सिलसिलामा कहाँ-कहाँ के हुन्छ हुन्छ, विदेशी शक्तिहरुको, साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको योजना बोकेर गाउँगाउँ जानेहरु विरुद्ध प्रतिरोध गर्ने अधिकार जनतालाई छ।"

केही जिल्लामा एकीकृत नेकपा माओवादीको कार्यालय र अध्यक्ष प्रचण्ड उपस्थित हुने कार्यक्रम स्थलमा घरेलु बम राखिएका खबर आएका छन्।

केही दिन यता नेकपा माओवादीको बन्द र अवरोध झेलिरहेका अध्यक्ष प्रचण्डले सरकार प्रमुखलाई भेटेर 'आपराधिक कृयाकलाप' रोक्न आग्रह गरेको बुझिएको छ।

माओवादी सचिव देव गुरुङले भने, "राजतन्त्रविरुद्ध बम राख्दा र बन्दूक उठाउँदा अपराध नहुने अनि अहिले विदेशीको दलाल हुन पाईँदैन भन्दाचाहिँ अपराध हुने?"

जवाफदेही

अन्य दलहरुले शान्तिपूर्ण बहिष्कार गर्न पाइने तर बल प्रयोग स्वीकार्य नहुने बताउने गरेका छन्।

तर सचिव गुरुङले हुनै लागेको सहमति भारतीय इशारामा भाँडेको र सेना परिचालन गरेर दमनमा उत्रिएको आरोप सरकार र सरकार पक्षीय पार्टीमाथि लगाए।

उनले भने, "त्यसकारण हिंसात्मक कार्यक्रम कतै भएको छ भने त्यसको जवाफदेही राज्यसत्ता र चार राजनीतिक दल हुन्छन्।"

अघिल्ला चुनावहरुमा पनि साना-तिना हिंसाका घटनाहरु हुने गरेका थिए।

तर यस पटक सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको नेकपा-माओवादीले गर्ने भनेको सक्रिय र सशक्त बहिष्कारका क्रममा उत्पन्न हुन सक्ने तनावले हिंसात्मक रुप लिने त होइन भन्ने आशंका कतिपयमा पाइन्छ।