चाडबाडको मुखमा उपभोग्य बस्तुको मूल्यबृद्धी

  • 25 अक्टोबर 2013
Image caption दसैंपछि उपभोग्य बस्तु र सेवाको मूल्य ह्वात्तै बढेको उपभोक्ता तथा उपभोक्ता अधिकारवादीको भनाइ छ

बजारमा दैनिक उपभोग्य बस्तुहरुमा मनपरि मूल्यबृद्धी भइरहेको गुनासोका माझ एक जना अधिकारीले त्यसलाई नियन्त्रण गर्न सरकारले सक्दो कोसिस गरिरहेको बताए।

चाडबाड र चुनावको मौकामा तरकारीजन्य वस्तुमा झण्डै दोब्बर र अन्य वस्तुमा ३० प्रतिशतसम्म मूल्यबृद्धी भएको उपभोक्ता अधिकारवादीहरुको दाबी छ।

बिहीबार साँझ ललितपुरको वल्खु स्थित फलफूल तथा तरकारी बजारमा उपभोक्ताहरुले भाउ निकै बढेको गुनासो गरे।

तरकारी किन्न आएका एक जना उपभोक्ताले भने, "पहिला धार्नीको १ सय ५० रुपैंया पर्ने आलुको भाउ निकै बढेछ, तरकारी छोइ नसक्नु भएछ।"

‘ह्वात्तै’

दसैंपछि उपभोग्य बस्तु र सेवाको मूल्य ह्वात्तै बढेको उपभोक्ता अधिकारवादीले बताए।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योती बानियाले उपभोक्ताका गुनासोलाई सरकारले बेवास्ता गरिरहेको बताए।

बजार अनुगमन र उपभोक्ताको हितको जिम्मा लिएको बाणिज्य तथा आपूर्ती व्यवस्थापन विभागले भने पोहोर भन्दा यस वर्ष १० देखि १५ प्रतिशत मात्रै मूल्य बृद्धी भएको दाबी गरेको छ।

अनुगमन गरिएपनि मूल्यबृद्धी नियन्त्रण गर्न नसकिएको विभागका उप-महानिर्देशक विनोदसिंह ठकुरीले बताए।

"मूल्य नतोकिएको वस्तुहरुको भाउ बढेको छ, त्यसैले कारबाही गर्न कठिन भइरहेको छ।"

भाउ आकासिएको बेला उपभोक्ता चांही बजार सब्जी फलफुल खाद्यान्न जस्ता दैनिक उपभोग्य बस्तुको भाउ सकेसम्म घटाउन मोल मोलाइमैं व्यस्त देखिन्छन्।