सरकारको सुरक्षा व्यवस्था कमजोर: दलहरु

  • 29 अक्टोबर 2013
सिंहदरबार
Image caption निर्वाचन आयोगले सरकारलाई सुरक्षा व्यवस्था राम्रो बनाउन आग्रह गरेको छ

आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण हुन थालेपछि नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको कमजोर सुरक्षा व्यवस्थाका कारण चुनाव प्रचार प्रसार प्रभावित भएको बताएका छन्।

उनीहरुले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकार समक्ष माग गरेका छन्।

कमजोरी

पछिल्ला दिनहरुमा नेकपा एमाले र नेपाली कांग्रेसका चुनावी कार्यक्रमहरुमा अवरोध पुर्‍याउने र उनीहरुका सवारी साधनमा तोडफोड र आगजनी गर्ने घटनाका माझ सुरक्षा चिन्ता थपिएको ती पार्टीका नेताहरुले बताएका छन्।

सरकारले एकिकृत सुरक्षा योजना बनाएर सेना सहित पौने दुई लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरे पनि यस्ता घटना वृद्धि हुनुलाई उनीहरुले सरकारको कमजोरीको रुपमा व्याख्या गरेका छन्।

चुनावी प्रयोजनका लागि प्रयोग भएको आफ्नो गाडीमा सोमबार राजधानी काठमाण्डौंमै आगजनी भएपछि कांग्रेस नेता नरहरि आचार्यले सरकार सुरक्षा कायम राख्न कमजोर भएको बताए।

उनले भने, "सुरक्षा प्रबन्ध कमजोर छ। भनिए जति व्यवस्थित छैन भन्ने कुरा यसले देखाउँछ। हामीले सुरक्षा निकायलाई सूचना दिएर प्रचारात्मक कार्यक्रममा जाँदा पनि राजधानीको सडकमै गाडीमा आगलागी हुंदा केही पनि थाहा नपाउनु भनेको सरकार कमजोर छ भन्ने हो।"

शंका

त्यसैगरी सरकारले आवश्यक सुरक्षाका लागि सजगता नअपनाएको आरोप नेकपा एमालेका सचिव युवराज ज्ञवालीले लगाए।

उनले भने, "जुन किसिमको सतर्कता, सजगता, सक्रियता हुनु पर्ने हो र सूचना लिएर कारबाही गर्नु पर्ने हो त्यो कुरा चाहिं राम्रो देखिएको छैन। यसलाई अझै सच्याउन जरुरी छ।"

राजधानीमै सुरक्षा कायम गर्न सरकार कमजोर देखिएकोले वाहिर राम्रो हुने कुरामा उनीहरुले शंका व्यक्त गरे।

चुनावको सक्रिय बहिष्कार गर्दै आएको मोहन वैद्य नेतृत्वको माओवादीले यसअघि आफ्नो आक्रमणको निशाना एकिकृत नेकपा माओवादी र मुख्य गरी उक्त पार्टीका अध्यक्ष प्रचण्डलाई बनाउँदै आएको देखिएको थियो।

तर पछिल्लो समयमा, एमाले र कांग्रेस नेतामाथिपनि आक्रमण हुन थालेका छन्।

वैद्य माओवादीले चाहीं आफुहरुको बहिष्कार शान्तिपूर्ण रहेको बताउँदै आएको छ।